सिन्धुपाल्चोक- “संसार भरीका गोलेहरू एक हौं” भन्ने मूल नाराका साथ गोले तामाङ बंश उत्थान समाजको ९औं राष्ट्रिय सम्मेलन तथा १२औं साधारण सभा आगामी जेठ ३ र ४ गते भव्य रुपमा सिन्धुपाल्चोक जिल्लाको बलेफी गाउँपालिका–३, धुस्कोटमा हुने भएको छ। तामाङ समुदायको ऐतिहासिक र सांस्कृतिक महत्व बोकेको धुस्कोट गाउँ यसपटक गोले समुदायको एकता, पहिचान र परम्पराको गौरवशाली केन्द्र बन्ने तयारीमा छ।
कार्यक्रममा विभिन्न गाउँ थाङ्पाल गुन्सा, धुस्कोट, डाडाँगाउँ, गहते, लप्से, चिम्लिङ, बिन्ज्याल, बदर्पा, इर्खु, खाले, हगाम याङ्लकोट, संचागाउँ, अर्चले ज्यामिरे, राम्चे, मानेश्वारा, केम्बे, डाडाँकटेरी, बसेरी, कर्थली, पाटी गाउँ, ताक मारा, सिपा, लगायत अन्य ठाउँ बाट गोले समुदायहरु र वरपर नजिकका बस्तीहरुबाट गोलेको स्वाङेभाइ तथा गोलेको कुटुम्बाखलकका साथै भारतको सिक्किम, दार्जिलिङ, मिरिक, जयगाउँ, असाम लगायत विभिन्न क्षेत्रबाट गोले समुदायका प्रतिनिधिहरूको सहभागिता रहने जनाइएको छ। मुख्य अतिथिका रूपमा सिक्किमका मुख्यमन्त्री श्री प्रेम सिंह गोले “पीएस गोले” तामाङलाई निमन्त्रणा गरिएको छ।

कार्यक्रममा सहभागीहरूको मनोरञ्जनका लागि राष्ट्रियस्तरका कलाकारहरूले सांगीतिक तथा सांस्कृतिक प्रस्तुति दिनेछन्। साथै, गोले समुदायको परम्परा, कला, रितिरिवाज, कुलपूजा, संस्कृति र किपट प्रणालीबारे जानकारीमूलक छलफल समेत हुने समाजले जनाएको छ।
कार्यक्रमको सफल व्यवस्थापनका लागि प्रीतम गोले तामाङको संयोजकत्वमा व्यवस्थापन समिति, राम गोले तामाङको नेतृत्वमा परिचालन समिति, र बिमल गोले तामाङको संयोजकत्वमा प्रचार प्रसार समिति गठन भइसकेका छन्।यस वर्षको सम्मेलनले सांस्कृतिक संरक्षण, अन्तराष्ट्रिय सम्बन्ध विस्तार र भावी पुस्तामा सामुदायिक चेतना फैलाउने लक्ष्य लिएको छ।













