हाल नेपालमा भइरहेको शिक्षक आन्दोलनबारे बलेफी गाउँपालिका–५, ज्यामिरे निवासी रन्जित पौडेल सँग ओके टिभि नेपालको संवाददाताले गरेको विशेष कुराकानीः
१: नमस्ते, सन्चै हुनुहुन्छ?
– नमस्कार! सन्चै छु।

२: हाल नेपालमा भइरहेको शिक्षक आन्दोलनबारे तपाईंको धारणा के छ?
– हाल चलिरहेको शिक्षक आन्दोलन केही हदसम्म न्यायोचित देखिए पनि अधिकांश पक्षहरू राजनीतिक कार्यकर्ता उत्पादन गर्ने अभियानजस्तै लाग्छ। शिक्षण पेसालाई राजनीतिसँग जोडेर गरिएको आन्दोलनले मूल उद्देश्यलाई बिर्सिएको महसुस हुन्छ।
३: शिक्षक आन्दोलनका कारण कक्षा १२ को परीक्षा के होला भन्ने आशंका देखिएको छ, तपाईंको विचार के छ?
– आन्दोलनले केवल परीक्षा मात्र होइन, सम्पूर्ण विद्यार्थीहरूको भविष्यमाथि प्रहार गरेको छ। शिक्षकहरूले आफ्ना अधिकारका लागि लड्दा लाखौं विद्यार्थीको भविष्यसँग खेलबाड भइरहेको छ, जसको दीर्घकालीन असर शिक्षा प्रणालीमा पर्न सक्छ।
४: विद्यालय बन्द हुँदा तपाईंको बालबालिकाको पठनपाठनमा कस्तो असर परेको छ?
–बच्चाहरूलाई विद्यालयप्रति रुचि कम नै हुने गर्दछ। त्यसमाथि वैशाख २ देखि सुरु हुने भर्ना अभियान रोकिएको छ, जसले गर्दा हाम्रा बालबालिकाले विद्यालय जानै पाएका छैनन्। यसले कोर्स पूरा नहुने, भए पनि जबरजस्ती लादिने, र विद्यालयको लय लिन समय लाग्ने जस्ता समस्याहरू निम्त्याएको छ।
५: शिक्षकहरूले उठाएका मागहरूमध्ये तपाईंलाई कति हदसम्म जायज लाग्छन्?
– केही मागहरू—जस्तै ईसीडी शिक्षक, कार्यालय सहयोगी, र अन्य विद्यालय कर्मचारीलाई स्थायित्व दिनु, नयाँ सार्वजनिक शिक्षा ऐन ल्याउनु आदि जायज छन्। तर आयोग नलड्न सक्ने, राजनीतिक आडमा मात्र जागिर खोज्ने प्रवृत्तिलाई समर्थन गर्न सकिन्न। शिक्षण पेसालाई पार्ट टाइम जस्तो हेर्ने प्रवृत्ति गलत हो।
६: सरकार र शिक्षक महासंघबीच कसरी संवाद र समाधान खोज्नु उपयुक्त हुन्छ भन्ने तपाईंको धारणा के छ?
– सरकार वार्ताको तयारीमा छ, तर शिक्षकहरू संवादमा जान चाहिरहेका छैनन्। सरकार सबै माग पुरा गर्न असमर्थ छ भन्ने सर्बबिदितै कुरा हो, त्यसैले दुवै पक्षले जित्ने गरी साझा समाधान तत्काल खोजिनुपर्छ। यसको जिम्मेवारी सरकारको नै हो।
७: शिक्षक आन्दोलनकै बीच शिक्षा मन्त्रीको राजीनामालाई तपाईंले कस्तो रूपमा लिनुभएको छ?
– मैले व्यक्तिगत रूपमा यसलाई सामान्य नै ठानेको छु। हिजोसम्म राजीनामा माग्नेहरू आज तिनकै प्रशंसा गरिरहेका छन्। आफ्नै पार्टीका अध्यक्ष प्रधानमन्त्री हुँदा काम गर्न नसकेको भन्दै राजीनामा दिनु जिम्मेवारीबाट भाग्नु हो। मन्त्रीले प्रधानमन्त्रीलाई विश्वासमा लिएर समस्याको समाधान खोज्नुपर्थ्यो। यो अवस्था मन्त्री, सरकार, र पार्टी तीनैको लाचारिपनको पराकाष्ठा हो।






