सिन्धुपाल्चोकको बलेफी गाउँपालिका वडा नं. ४ मा अवस्थित ऐतिहासिक र पर्यटकीय क्षेत्र गढीडाँडाको संरक्षण तथा बुद्ध पार्क निर्माण कार्य आजबाट औपचारिक रूपमा सुरु गरिएको छ। उक्त कार्यक्रममा गाउँपालिका अध्यक्ष गंगा बहादुर तामाङ, वडा अध्यक्ष सुर्जे तामाङ, पूर्व वडा अध्यक्ष काली प्रसाद लामा लगायत स्थानीय प्रतिनिधिहरूको उपस्थितिमा विधिपूर्वक क्षमा पूजा गरी कामको सुरुवात गरिएको हो।
गढीडाँडा बिगतदेखि नै ऐतिहासिक, धार्मिक र सांस्कृतिक दृष्टिकोणले महत्वपूर्ण मानिँदै आएको स्थल हो। यस क्षेत्रलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले बुद्ध पार्क निर्माणको योजना अघि सारिएको हो। पार्क निर्माणसँगै आवश्यक पूर्वाधार विकास, सौन्दर्यीकरण, मार्ग सुधार लगायतका कार्यहरू पनि क्रमशः अघि बढाइने जनाइएको छ।

स्थानीयवासीको दीर्घ चाहना अनुरूप यो योजना कार्यान्वयनमा ल्याइएको हो, जसले क्षेत्रको सामाजिक तथा आर्थिक विकासमा टेवा पुर्याउने विश्वास लिइएको छ। पर्यटकहरूलाई आकर्षण गर्ने र स्थानको ऐतिहासिक महत्वलाई जगेर्ना गर्ने उद्देश्यले सुरु गरिएको यो योजना बलेफी गाउँपालिकाको समग्र पर्यटन प्रवर्द्धनमा एक महत्वपूर्ण कदम सावित हुने अपेक्षा गरिएको छ।














