काठमाडौंँ –विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने मागसहित आन्दोलनरत शिक्षकहरूको प्रतिनिधिमण्डलले शुक्रबार राति प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख देवराज घिमिरेसँग छुट्टाछुट्टै भेटवार्ता गरेको छ।
शिक्षक महासंघका अनुसार प्रधानमन्त्री ओलीसँग राति ९ बजेदेखि करिब दुई घण्टा छलफल भयो भने सभामुखसँगको भेट राति ११:३० बजे सम्पन्न भयो। छलफलमा शिक्षक आन्दोलनका कारण, शिक्षक-कर्मचारीका समस्याहरू र विद्यालय शिक्षा ऐन यथाशीघ्र जारी गर्ने उपायहरूबारे गम्भीर रूपमा विमर्श गरिएको थियो।

प्रधानमन्त्रीसँगको भेटमा ऐन पारित गर्ने प्रक्रिया तीव्र बनाउने विषयमा सकारात्मक संकेतहरू मिलेको महासंघले जनाएको छ। भेटमा महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी, सहअध्यक्ष नानुमाया पराजुली, महासचिव तुलाबहादुर थापा र उपमहासचिव मदनराज जोशी सहभागी थिए।
प्रधानमन्त्रीसँग भेटपछि शुक्रबार राति नै आएको महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीको भनाइले पनि शिक्षक कर्मचारीका माग तत्काल सम्बोधन हुने गरी ऐन जारी हुने भरपर्दो संकेत देखिन्न। अध्यक्ष सुवेदी भन्छन्, ‘‘प्रधानमन्त्रीज्यूले ‘सरकारले सम्बोधन गर्न सक्ने कुराबारे सल्लाह गरेर निर्णय लिने तथा ऐन जारी गर्न तदारुकता दिने कुरा गर्नुभयो।’
महासंघको प्रतिनिधिमण्डलले प्रधानमन्त्री ओलीसमक्ष जारी आन्दोलन, शिक्षक-कर्मचारीका मागमुद्दा र विद्यालय शिक्षा ऐन जारी गर्ने सम्बन्धमा आफ्ना धारणा प्रष्ट रूपमा राखेको सुवेदीले जानकारी दिए।
त्यसैगरी महासंघको प्रतिनिधिमण्डलले शुक्रबार राति ११:३० बजे सभामुख देवराज घिमिरेसँग पनि भेट गरेको छ। अध्यक्ष सुवेदीका अनुसार विद्यालय शिक्षा विधेयक छिटो जारी गर्ने विधि र उपायबारे छलफल भयो। महासंघले आन्दोलन जारी रहेने बताएको छ।













