सिन्धुपाल्चोक- चौतारा साँगाचोकगढी नगरपालिका–५ मा क्रियाशील ‘हाम्रो जन्मभूमि सामाजिक संस्था’ ले आफ्नो चौथो स्थापना दिवस विशेष कार्यक्रमका साथ सम्पन्न गरेको छ।
स्थापना दिवसको अवसरमा संस्थाले विपन्न तथा जेहेन्दार विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गर्दै सामाजिक उत्तरदायित्वको परिचय दिएको छ। मंगलवार सम्पन्न कार्यक्रममा छात्रछात्राहरूलाई झोला, कापी, कलम लगायतका शैक्षिक सामग्री प्रदान गरिएको थियो।

कार्यक्रम चौतारा साँगाचोकगढी–५ स्थित वडा कार्यालयको सभाहलमा आयोजित गरिएको हो। कार्यक्रममा संस्थाका पदाधिकारी, स्थानीय जनप्रतिनिधि, शिक्षक, अभिभावक तथा विद्यार्थीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
उक्त अवसरमा बोल्ने वक्ताहरूले शिक्षा र समाजसेवामा संस्थाले पु¥याउँदै आएको योगदानको प्रशंसा गर्दै आगामी दिनमा अझ प्रभावकारी भूमिका खेल्ने विश्वास व्यक्त गरे।
स्थापना दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै अतिथिहरूले संस्थाले समुदायमा पु¥याइरहेको कार्यको सम्मान गर्दै आगामी दिनमा पनि सामाजिक हितमा सक्रिय रहने अपेक्षा व्यक्त गरेका थिए।
‘हाम्रो जन्मभूमि सामाजिक संस्था’ ले स्थापनाको चार वर्षको अवधिमा शिक्षा, स्वास्थ्य र सामाजिक सचेतनाका क्षेत्रमा उल्लेखनीय कार्य गर्दै आएको छ।
सामाजिक सेवा र समावेशी विकासतर्फको यो अभियान थप सशक्त हुने विश्वासका साथ कार्यक्रम समापन गरिएको थियो।













