काठमाडौँ : काठमाडौँ महानगरपालिकाले तीनकुने क्षेत्रमा सार्वजनिक सम्पत्तिमा क्षति पुर्याएको भन्दै पूर्वराजा ज्ञानेन्द्र शाहलाई जरिवाना तिर्न पत्र पठाएको छ।
शुक्रबारको प्रदर्शनका क्रममा तीनकुने, कोटेश्वर लगायतका क्षेत्रमा सार्वजनिक संरचनामा आगजनी, तोडफोड तथा महानगरको दमकलमा ढुंगामुढा गरिएको घटनाको मूल्याङ्कनपछि निर्मल निवासमा ७ लाख ९३ हजार रुपैयाँको बिल पठाइएको महानगर स्रोतले जनाएको छ।

महानगरले वडा नं. ३२ अन्तर्गत कोटेश्वर तथा तीनकुने क्षेत्रका सडक तथा पेटीमा अव्यवस्थित रूपमा फोहोरमैला फ्याँकिएको भन्दै पूर्वराजा शाहलाई १/१ लाख रुपैयाँ जरिवाना तोकेको छ। त्यसैगरी, दमकल तथा अग्निनियन्त्रकहरूमाथि ढुंगामुढा गरी क्षति पुर्याएको आरोपमा १ लाख ३० हजार जरिवाना गरिएको छ।
त्यस्तै, तीनकुने क्षेत्रमा वातावरण प्रदूषण गरेको भन्दै थप १ लाख रुपैयाँ जरिवानाको पत्र पठाइएको छ। बालकुमारी र जडिबुटी सडक क्षेत्रमा समेत फोहोर फ्याँकिएको भन्दै १/१ लाख रुपैयाँ जरिवाना तोकिएको छ। साथै, तीनकुने क्षेत्रमा रहेको रुखबिरुवा, रेलिङ भत्काएको आरोपमा ४० हजार रुपैयाँ र आइल्याण्डमा तोडफोड गरेकोमा २३ हजार रुपैयाँ जरिवाना गरिएको महानगरले जनाएको छ।
महानगरले तोकेको जरिवानासम्बन्धी पत्र निर्मल निवासमा पठाइसकिएको जानकारी दिएको छ।














