काठमाडौं : राजावादी आन्दोलनकारीले तीनकुनेस्थित एक निजी घरमा आगजनी गर्दा एभिन्यूज टेलिभिजनका क्यामेराम्यान सुरेश रजकको जलेर मृत्यु भएको छ।
प्रहरीले सो घरबाट अश्रुग्यास प्रहार गरेको भन्दै आन्दोलकारीहरूले भवनमा आगो लगाएको बताइएको छ। आगलागीका कारण रजकको भवनको तेस्रो तलामा जलेर मृत्यु भएको हो।

आन्दोलनस्थलमा रिपोर्टिङका क्रममा रहेका एभिन्यूज टेलिभिजनका पत्रकार पारस श्रेष्ठका अनुसार, आगो लागेपछि रजक ज्यान जोगाउन भवनभित्र पस्न बाध्य भएका थिए। तर, प्रहरीलाई उद्धारका लागि जानकारी गराउँदा पनि कुनै पहल नगरेको श्रेष्ठले गुनासो गरे।
रजकको शव तेस्रो तलामा पूर्ण रूपमा जलेको अवस्थामा फेला परेको छ। घटनाबारे विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।













