सिन्धुपाल्चोक : बलेफी गाउँपालिका–८ की आशिका तामाङ विगत तीन वर्षदेखि अज्ञात छाला रोगबाट पीडित छिन्। उपचार अभावका कारण कष्टकर जीवन बिताउँदै आएकी तामाङलाई साउदी अरेबियाबाट आठ लाख ५५ हजार नेपाली रुपैयाँ आर्थिक सहयोग जुटाइएको छ।
सामाजिक सञ्जालमार्फत उनको समस्याबारे जानकारी पाएपछि साउदी अरबमा रहेका नेपालीहरूले संयुक्त रूपमा १० दिने सहयोग अभियान सञ्चालन गरी २३ हजार ४५१ साउदी रियाल संकलन गरेका हुन्। अभियानको नेतृत्व यम तमुले गरेका थिए।

तीन वर्षदेखि उपचार नपाएका कारण तामाङको शरीरका छाला झर्ने र केही भाग कुहिने अवस्था पुगेको थियो। परिवारले उपचारका लागि विभिन्न माध्यमबाट सहयोगको अपिल गरेपछि नेपालमा रहेकी सामाजिक अभियन्ता आशिका तामाङ र मुना निरौला त्रिपाठीले उनको घरमै पुगेर अवस्था बुझी काठमाडौंस्थित केएमसी अस्पतालमा भर्ना गराएका थिए।
अस्पतालमा सुरुमा लागेको खर्च अभियन्ता तामाङ र त्रिपाठीले बेहोरेका थिए भने अस्पतालले पनि सहयोग गरेको थियो। हाल तामाङको स्वास्थ्यमा केही सुधार आएको छ। साउदीमा संकलित सहयोग रकम केही दिनभित्रै नेपाल पठाइ परिवारलाई हस्तान्तरण गरिने यम तमुले बताएका छन्।
यस प्रकारको मानवीय सहयोग अभियानले असहाय तथा पीडित व्यक्तिहरूको जीवन बचाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।













