काठमाडौं : मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेडले आगामी २०८२ वैशाख २ गते मंगलबार वार्षिक साधारणसभा आह्वान गरेको छ। साधारणसभा प्रयोजनका लागि कम्पनीले २०८१ चैत २२ गते बुक क्लोज गर्ने निर्णय गरेको छ, जसअनुसार चैत २१ गतेसम्म कायम रहेका शेयरधनीहरूले मात्र सभामा भाग लिन सक्नेछन्।
कम्पनीले यस पटकको साधारणसभामा लाभांश प्रस्ताव नगरेको छ भने, सर्वसाधारणका लागि थप सार्वजनिक निष्कासन (एफपीओ) सम्बन्धी विशेष प्रस्ताव प्रस्तुत गर्ने तयारी गरेको छ। साथै, अन्य लघुवित्त संस्थासँग गाभ्ने (मर्जर) वा प्राप्ति (एक्विजिशन) प्रक्रियाका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पनि सभामा छलफलका लागि प्रस्तुत गरिनेछ।

साधारणसभामा पेश गरिने प्रस्तावहरू
क) साधारण प्रस्ताव
१. आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने।
२. लेखापरीक्षकको प्रतिवेदनसहित २०८१ असार मसान्तको वासलात, नाफा-नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा सम्बन्धित अनुसूचीहरूमाथि छलफल गरी स्वीकृत गर्ने।
3. साविक जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको २०८१ असार २६ गतेसम्मको वित्तीय विवरण पारित गर्ने।
४. आर्थिक वर्ष २०८१/८२ को लागि लेखापरीक्षक नियुक्त गर्ने र पारिश्रमिक निर्धारण गर्ने।
५. संस्थापक समूहबाट चार जना तथा सर्वसाधारण समूहबाट दुई जना सञ्चालक चयन गर्ने।
ख) विशेष प्रस्ताव
१. सर्वसाधारणका लागि एफपीओ निष्कासन गर्ने।
२. नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त “घ” वर्गका अन्य लघुवित्त वित्तीय संस्थाहरूसँग गाभ्ने (मर्जर) तथा प्राप्ति (एक्विजिशन) सम्बन्धी आवश्यक निर्णय लिन सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने।
मातृभूमि लघुवित्तको यो साधारणसभा संस्थाको आगामी रणनीतिक योजनाहरू निर्धारण गर्ने महत्वपूर्ण अवसर हुने अपेक्षा गरिएको छ।













