सिन्धुपाल्चोक – मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेडको ज्यामिरे शाखाले ‘ग्लोबल मनी वीक २०२५’ कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ। संस्थाको केन्द्रीय कार्यालयद्वारा आयोजित सो कार्यक्रम सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–५, बिन्जेलस्थित श्री जालपा देवी माध्यमिक विद्यालयमा सम्पन्न भएको हो।
कार्यक्रमको अध्यक्षता विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद पराजुलीले गर्नुभएको थियो भने सहायक प्रधानाध्यापक ठाकुरनाथ नेपाल विशेष अतिथिको रूपमा रहनुभएको थियो। त्यस्तै, मातृभूमि लघुवित्त वित्तीय संस्थाको पाँचखाल अनुगमन कार्यालयका प्रमुख विष्णु प्रसाद जैसी, पाँचखाल शाखाका प्रमुख राजेन्द्र पौडेल तथा ज्यामिरे शाखाका कर्मचारीहरूको उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन ज्यामिरे शाखा प्रमुख सुस्मिता श्रेष्ठले गर्नुभएको थियो।

कार्यक्रमको पहिलो चरणमा ‘ग्लोबल मनी वीक २०२५’ को महत्व, उद्देश्य तथा आर्थिक चेतना वृद्धिमा यसको भूमिकाबारे जानकारी प्रदान गरियो। दोस्रो चरणमा अनुगमन प्रमुख विष्णु प्रसाद जैसीले वित्तीय साक्षरतासम्बन्धी विभिन्न विषयमा प्रकाश पार्दै बचत, लगानी, वित्तीय अनुशासन, ऋण व्यवस्थापन तथा डिजिटल बैंकिङका विषयमा विद्यार्थीहरूलाई मार्गदर्शन गर्नुभयो।
वित्तीय शिक्षाका माध्यमबाट समाजलाई सशक्त बनाउने उद्देश्यका साथ आयोजित यस कार्यक्रममा विद्यार्थी, शिक्षक तथा अभिभावकहरू उत्साहपूर्वक सहभागी भएका थिए। उनीहरूले वित्तीय व्यवस्थापनका नयाँ विधिहरू तथा आर्थिक निर्णय क्षमतासम्बन्धी ज्ञान हासिल गर्न पाउँदा अत्यन्त खुशी व्यक्त गरे।
कार्यक्रमको समापन विद्यालयका सहायक प्रधानाध्यापक ठाकुरनाथ नेपालले गर्नुभएको थियो। उहाँले वित्तीय साक्षरताले समाजमा आत्मनिर्भरता र समृद्धि ल्याउने उल्लेख गर्दै यस्ता कार्यक्रमहरूले विशेष गरी विद्यार्थीहरूलाई भविष्यमा वित्तीय रूपमा सचेत बन्न प्रेरित गर्ने विश्वास व्यक्त गर्नुभयो।
शिक्षा र वित्तीय ज्ञानको विस्तार गर्ने उद्देश्यका साथ आयोजित ‘ग्लोबल मनी वीक २०२५’ कार्यक्रम विद्यालय प्रशासनका अनुसार सफलतापूर्वक सम्पन्न भएको छ।














