अज्ञात छाला रोगबाट पीडित १२ वर्षीय आशिका तामाङको उपचारका लागि साउदीबाट सहयोग संकलन अभियान सुरू

सिन्धुपाल्चोक जिल्लाको बलेफी गाउँपालिका-८, टोप्काकी १२ वर्षीय बालिका आशिका तामाङ अज्ञात छाला रोगबाट पीडित छिन्। आर्थिक अवस्था अत्यन्तै कमजोर रहेको उनको परिवार उपचार खर्च जुटाउन असमर्थ भएपछि, प्रवासी नेपाली समाजसेवी ऐम तमुले सहयोग अभियान सुरू गरेका छन्।

बिगत १५–१६ वर्षदेखि रोजगारीका सिलसिलामा साउदी अरबमा रहेका ऐम तमु, जो हाल बुटवल निवासी तथा लालिगुराँस रेष्टुरेन्ट, साउदीका सञ्चालक हुन्, आशिकाको उपचारका लागि आर्थिक सहयोग संकलन गरिरहेका छन्। साउदीमा रहेका नेपाली समुदायलाई अभियानमा सहभागी गराउँदै एक महिनासम्म रकम संकलन गर्ने योजना उनले बताएका छन्।

ओके टिभी नेपालका संवाददाता नवराज नेपालसँगको कुराकानीमा ऐम तमुले बालिकाको अवस्थाबारे पहिलोपटक एक पत्रकारले भिडियो सेयर गरेपछि जानकारी पाएको बताए। खोजी गर्दै जाँदा आशिका तामाङ सिन्धुपाल्चोकको बलेफी गाउँपालिका-८ की भएको र उनको परिवार अत्यन्तै विपन्न रहेको थाहा पाएपछि बालिकाको आमासँग प्रत्यक्ष सम्पर्क गरी सहयोग अभियान थालिएको उनले जनाए।

यसअघि पनि ऐम तमुले सिन्धुपाल्चोक मेलम्चीमा बाढीपीडितहरूका लागि सहयोग संकलन गरी राहत हस्तान्तरण गरिसकेको बताएका छन्। हाल आशिका तामाङको उपचारका लागि संकलित रकम उपयुक्त समयमा हस्तान्तरण गरिने जानकारी पनि उनले दिए।

यो सहयोग अभियानले आर्थिक अभावका कारण उपचारबाट वञ्चित आशिका तामाङलाई नयाँ जीवन दिने अपेक्षा गरिएको छ। इच्छुक सहयोगदाताहरूलाई अभियानमा सहभागी हुन आग्रह गर्दै ऐम तमुले सहयोग जुटाउने कार्य निरन्तर अघि बढाइरहेका छन्।

प्रतिक्रिया
सम्बन्धित खवर