काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षकहरूको भूमिकाप्रति दिएको अभिव्यक्तिले शिक्षा क्षेत्रमा तीव्र प्रतिक्रिया उत्पन्न गराएको छ। शिक्षक संगठनहरूले उक्त टिप्पणीप्रति असहमति जनाउँदै आलोचना गरेका छन्।
गत मंगलबार जोरपाटीस्थित नेपाल मेडिकल कलेज तथा शिक्षण अस्पतालको रजत जयन्ती समारोहमा प्रधानमन्त्री ओलीले कक्षा कोठामा गुणस्तरीय शिक्षा प्रदान गर्न नसकेको भन्दै शिक्षकप्रति असन्तुष्टि व्यक्त गरेका थिए। उनले एसइई परीक्षामा फेल गराउने गरी पढाउने शिक्षकहरूको तलब वृद्धि नहुने भन्दै शिक्षण पद्धतिमा सुधार आवश्यक रहेको उल्लेख गरे।

प्रधानमन्त्री ओलीले भने, “हाम्रो युवा पुस्ता बुद्धु छैनन्, ट्यालेन्ट छन्, तर राम्रो पढाउन सक्दैनौं, ज्ञान सम्प्रेषण राम्रो गर्न सक्दैनौं। तीन घण्टा स्कुल धाएका विद्यार्थीले शिक्षककै कमजोरीको भार बोक्नुपर्छ? ५२ प्रतिशत विद्यार्थी फेल गर्ने शिक्षकलाई किन तलब बढाउने?”
प्रधानमन्त्रीको यस अभिव्यक्तिपछि नेपाल शिक्षक महासंघ र नेपाल राष्ट्रिय शिक्षक संगठन लगायतका शिक्षक संगठनहरूले यो आरोप स्वीकार गर्न नसकिने बताउँदै औपचारिक रूपमा असहमति जनाएका छन्। शिक्षकहरूले सामाजिक सञ्जालमार्फत पनि प्रधानमन्त्रीको भनाइप्रति कडा विरोध जनाइरहेका छन्।
शिक्षक संघ-संगठनहरूले प्रधानमन्त्रीको अभिव्यक्ति शिक्षण पेशाप्रति नकारात्मक धारणा बोकेको भन्दै शिक्षकहरूको वास्तविकता बुझेर मात्र निर्णय लिन आग्रह गरेका छन्।













