बलेफी, सिन्धुपाल्चोक-सर्वप्रथम बलेफी गाउँपालिका वडा नम्बर ४ विञ्ज्यालस्थित यस जालपादेवी माध्यमिक विद्यालयको स्वर्ण जयन्तीको अवसरमा समस्त शिक्षक, विद्यार्थी, कर्मचारी, अभिभावक, विद्यालय व्यवस्थापन समिति, गाउँपालिकाबासी तथा शिक्षाप्रेमी महानुभावहरूमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु।
सिन्धुपाल्चोकको ग्रामीण क्षेत्र बलेफी गाउँपालिकाको यस विद्यालयमा मैले पहिलो पटक पाइला टेक्ने अवसर पाएँ। विद्यालयको स्वर्ण जयन्तीको सन्दर्भ पारेर मलाई यहाँ आउने र केही भनाइहरू राख्ने अवसर प्रदान गरि दिनुभएकोमा विद्यालय परिवार लगायत यहाँहरू सबैप्रति हार्दिक कृतज्ञता प्रकट गर्दछु। यो विद्यालयलाई यस स्तरसम्म ल्याउन स्थापनाकालदेखि आजसम्म विभिन्न स्तर र तहबाट सहयोग गर्नु हुने सबैलाई स्मरण गर्न चाहन्छु।

वि.सं. २०३२ सालमा स्थापना भएको यस विद्यालयले विभिन्न आरोह-अवरोह, कठिनाइ र चुनौती झेल्दै अहिले कक्षा १२ सम्मको पठनपाठन गरिरहेको छ। विशेष गरि जनजाति तथा दलित समुदायका बालबालिकाहरूको बाहुल्य रहेको यस विद्यालयले गत वर्ष कक्षा १२ को परीक्षामा सतप्रतिशत पास गरि उत्कृष्ट नतिजा ल्याएको थाहा पाउँदा मलाई निकै खुसी लागेको छ। एसईईको नतिजा पनि उत्कृष्ट नै रहेकोमा विद्यालय परिवारलाई धन्यवाद दिन चाहन्छु। यस अवसरमा विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको उज्ज्वल भविष्यको शुभकामनासहित पछि अध्ययन गर्न आउने विद्यार्थी भाइबहिनीहरूको लागि प्रेरणाको स्रोत बनिरहोस् भन्ने कामना पनि गर्दछु।
जन्मेदेखि जीवनभर प्राप्त गरिने ज्ञान, सीप प्रयोगबाट आर्जित नयाँ अनुभवहरूको संगालो नै शिक्षा हो। यो औपचारिक र अनौपचारिक दुवै माध्यमबाट आर्जन गर्न सकिन्छ। त्यसैले यस्तो मान्यताअनुसार यहाँको पठनपाठनमा राम्रो प्रगति गर्नुका साथै यस विद्यालयले नियमित अतिरिक्त क्रियाकलाप सञ्चालन र विभिन्न शैक्षिक सामग्रीहरूको व्यवस्था गरेको रहेछ। खेलकूद प्रतियोगिता, कम्प्युटर तालिम, प्रोजेक्टर तथा स्मार्ट बोर्डबाट शिक्षण, सीसीटीभी, चमेना गृहको व्यवस्था, वार्षिक कार्यतालिकासहितको पात्रो, बालमैत्री कक्षाकोठा आदि मननयोग्य कामहरू भएको थाहा पाउँदा खुसी लागेको छ। आउने दिनहरूमा पनि यस्ता काममा प्रगति गर्दै विद्यालयको गुणस्तर बढाउन निरन्तर सफल हुनुहुनेछ भन्ने विश्वास छ।
राजनीतिक दलहरू प्रतिबन्धित भएको बेला पञ्चायतकालमा स्थापना भएको विद्यालयले यस क्षेत्रका नागरिकलाई शिक्षित, सक्षम र चेतनशील बनाउन महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ भन्ने मैले विश्वास लिएको छु। आगामी दिनमा विद्यालयको शैक्षिक गुणस्तर वृद्धि, भौतिक पूर्वाधार सुधार र सुदृढ गर्दै यस क्षेत्रको उत्कृष्ट शैक्षिक संस्थाको रूपमा विकास गर्न यहाँहरू सक्षम हुने मैले अपेक्षा लिएको छु। त्यसका लागि संघ, प्रदेश र स्थानीय तहका सबै जनप्रतिनिधिहरूसँगको हातेमालोबाट स्थानीय जनताको सक्रियताले जिल्लाकै उत्कृष्ट विद्यालय बनाउन अगाडि बढ्नुहोस्, मेरो तहबाट पनि आवश्यक सहयोगको लागि विश्वास दिलाउन चाहन्छु।
विश्वका जुनसुकै राष्ट्रको विकासको मेरूदण्ड भनेकै शिक्षा हो। शिक्षा विकास, समृद्धि र सशक्तिकरणको आधारस्तम्भ हो। शिक्षाले व्यक्तिलाई आत्मनिर्भर बनाउने मात्र होइन, समाजलाई समुन्नत बनाउन पनि उत्तिकै भूमिका खेलेको हुन्छ। शैक्षिक क्षेत्रबाट उत्पादित दक्ष जनशक्तिले नै मुलुकको समग्र विकास र समृद्धिमा महत्वपूर्ण भूमिका खेल्ने भएकाले विद्यार्थीलाई गुणस्तरिय शिक्षा दिन उपयुक्त वातावरण निर्माण गर्नु हामी सचेत नागरिकको दायित्व हुन्छ।
आज यहाँ प्रस्तुत प्रतिवेदनमा उल्लेखित यस माविका कतिपय योजना तत्काल गर्नुपर्ने कामबारे मेरो पर्याप्त ध्यानाकर्षण भएको छ। यस जिल्लाका सबै तहका क्रियाशील जनप्रतिनिधिसँग सहकार्य गरि म मेरो स्थानबाट सहयोगका लागि सक्दो प्रयास गर्ने नै छु। तर पनि मुख्यतः स्थानीय तहले आफ्नो जिम्मेवारी पूरा गर्ने क्रममा प्रदेश र संघका जनप्रतिनिधिसँग सहकार्य गर्न जरूरी छ। त्यसैले विद्यालयका हरेक क्रियाकलाप, शैक्षिक कार्यक्रम, पठनपाठन र बालबालिकाको पढाइको गुणस्तरजस्ता विषयमा प्रत्यक्ष निगरानी र सकारात्मक हस्तक्षेप जरूरी छ।
संविधानको धारा ५१ को राज्यका नीतिहरूको (ज) को १ मा शिक्षा जनमुखी, व्यावहारिक, वैज्ञानिक, रोजगारउन्मुख, उत्पादनमुखी, प्राविधिक प्रतिस्पर्धी बनाउनु पर्छ भनिएको छ। संविधानमा उल्लेखित यस मर्मलाई गम्भीरताका साथ कार्यान्वयन गर्न पनि तपाईहरूको पर्याप्त ध्यान जाने नै छ।
शिक्षक, अभिभावक, विद्यार्थी र सबै तहका जनप्रतिनिधिहरूको संयुक्त प्रयासबाट मात्रै शिक्षामा देखिएको अराजकतालाई कम गर्दै शिक्षाको गुणस्तर बढाउन र सबैमा अनुशासन कायम राख्न सम्भव हुन्छ। आफ्ना बच्चाहरूको पठनपाठनको अवस्थाका बारेमा हरेक अभिभावक सजग रहनुपर्ने र विद्यालयका सबै सम्भावना र चुनौतीलाई शिक्षक विद्यार्थीले अभिभावकलाई जानकारी दिने परिपाटी बनाउन अति आवश्यक हुन्छ। जसबाट विद्यालयमा एउटा मजबुत एकता र अनुशासन कायम हुन्छ।
यसका साथै हाम्रो देशमा बढ्दै गएको शैक्षिक बेरोजगारी कम गर्न पनि अति आवश्यक छ। यसका लागि राज्यले एकै प्रकारको शिक्षा नीति लागु गर्न, शिक्षालाई पूर्ण निःशुल्क र अनिवार्य गर्न, राज्यलाई चाहिने जनशक्तिको बाँडफाँड गर्ने तथा प्राविधिक व्यावसायिक, सीपमूलक योजना निर्माण गर्ने अभियान चलाउन अति जरूरत छ। तबमात्र शैक्षिक बेरोजगार मात्र होइन, समाजमा देखा पर्ने अन्य प्रकारका बेरोजगारीको समेत अन्त्य हुन सक्दछ।
स्थानीय तहले शिक्षा क्षेत्रको विकासको निम्ति गरेको पहल सह्रानीय छ। तर पनि संघ सरकारलाई राष्ट्र संघीय दिगो विकास लक्ष्य (४) ले राष्ट्रिय बजेटको न्यूनतम १५ देखि २० प्रतिशत रकम शिक्षा क्षेत्रमा लगानी गर्न सुझाव दिए पनि यसतर्फ सरकारको ध्यान पुगेको देखिदैन। प्रदेश सरकारले विद्यालयमा छात्रछात्राको संख्या बढाउन र उनीहरूलाई विद्यालयमै टिकाइराख्न विभिन्न सहयोगका योजनाहरूको व्यवस्था गरेको छ। त्यस्तै, दलित र पिछडिएका वर्गको लागि छात्रवृत्तिको विशेष सहुलियत, मधेश लगायत अन्य प्रदेशमा कयौं आकर्षक कार्यक्रमहरूको व्यवस्था गर्नुका साथै छात्राहरूको लागि विशेष ध्यान दिइएको छ। तथापि शिक्षामा सबैको पहुँच पुर्याउन र अध्ययन अध्यापनको विकास गर्न राष्ट्रिय बजेटमै शिक्षातर्फको बजेट बढाउनुको विकल्प छैन।
म यहाँ उल्लेख गर्न चाहन्छु कि नेपाली जनता ०७ साल, ०४६ साल, ०५२ साल हुँदै ०६२/६३ सालसम्म आइपुग्दा सधैं परिवर्तनको पक्षमा उभिएका छन्। पटक-पटक सशक्त र विद्रोहात्मक आन्दोलन र बलिदान गरेर देशको राजनीतिक व्यवस्था परिवर्तन गरेका छन्। व्यवस्था परिवर्तन भए पनि अनुभूति गर्ने गरि जनताको अवस्थामा रूपान्तरण भने हुन सकिरहेको छैन। जनताले खोजेको खासमा शिक्षा, स्वास्थ्य, रोजगारी र आर्थिक समृद्धि हो।
नेपाली जनताले उपरोक्त प्रकारका आन्दोलन गर्दै ठुलो त्याग बलिदानबाट २०७२ सालमा प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान हाम्रा अगाडि छ। त्यसमा मौलिक हकको रूपमा प्रष्ट उल्लेख गरिएका शिक्षा, स्वास्थ्य, आवास, रोजगारी, खानेपानी लगायतका अधिकार उत्पीडित वर्ग, जाति, लिङ्ग, क्षेत्र र समुदायका जनताले खासै उपभोग गर्न नपाउँदा निरासा बढिरहेको छ। जनतामा बढिरहेको निरासामाथि खेल्दै परिवर्तनविरोधी र पश्चगामी शक्तिहरूले फेरि टाउको उठाउने र संघीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थामाथि नै धावा बोल्ने षड्यन्त्रप्रति भने हामी सबै सचेत हुन जरूरी छ।
जनताका सम्पूर्ण मौलिक हक अधिकार उपभोग गर्नका लागि सहज वातावरण बनाउन चाहिने कयौं ऐन कानुन बन्न नसक्दा जनतामा झनै निरासा बढेको छ। हामी अझैं पनि पुरानै शिक्षा ऐन, भूमि ऐन, वन ऐनजस्ता दर्जनौं पञ्चायतकालीन ऐनबाट निर्देशित हुन परिरहेको छ। ऐन निर्माण गर्ने ठाउँको नेतृत्वमा रहेर पनि कयौं व्यावहारिक कानुनी जटिलताका कारण सोचेजस्तो काम हुन नसकेको कुरा म आफैलाई अनुभूति भएको छ।
शिक्षासँग प्रत्यक्ष सरोकार राख्ने विद्यालय शिक्षा विधेयक अहिले प्रतिनिधि सभामा छलफलको क्रममै रहेको छ। यो विधेयक दुवै सदनबाट पारित भएपछि शिक्षा क्षेत्रमा देखिएका धेरै समस्याहरू समाधान हुनेछन् भन्ने मैले विश्वास लिएको छु। साथै अहिले दुवै सदनमा निजामति विधेयक, प्रहरी समायोजन विधेयक, भ्रष्टाचारसँग सम्बन्धी विधेयक जस्ता दर्जनौं विधेयक छलफलमा छन्।
अपेक्षा गरौं- यो हिउँदे अधिवेशनमा सबै आवश्यक विधेयक पारित हुनेछन्।मैले माथि नै भनिसकेको छु कि अबका दिनमा गाउँमै रोजगार सिर्जना गर्न सक्ने व्यावसायिक र सीपमूलक शिक्षामा विकास गर्न र यो नीति अवलम्बन गर्न अपरिहार्य भइसकेको छ। त्यसका लागि स्थानीय सरकारको पहलमा प्राविधिक शिक्षातर्फ पनि जोड दिनुपर्ने मैले आवश्यकता देखेको छु।
त्यस्तै प्रविधिको विकासले विश्व नै एउटा गाउँजस्तै बनाइदिएको अहिलेको समयमा डिजिटल शिक्षाको अभावमा ग्रामीण क्षेत्रका विद्यार्थी विश्वव्यापी प्रतिस्पर्धामा पछाडि पर्न सक्छन्।त्यसैले सूचना प्रविधिमैत्री शिक्षाको विकासमा पनि सरोकारवाला सबैले ध्यान दिन जरूरी छ।
हाम्रो जस्तो ग्रामीण क्षेत्रमा शिक्षाको विकासका लागि भौतिक पूर्वाधारको अभाव मुख्य समस्याकै रूपमा रहेको छ। आवश्यकता अनुरूप विद्यालय भवन, शैक्षिक सामग्री, पुस्तकालय र प्रयोगशालाको अभाव छ। शिक्षकको दरबन्दी नहुनु, आर्थिक असमानता, गरिबी र अभावले बालबालिकालाई विद्यालयमा नियमित पठाउन समेत नसक्ने अवस्था छ। सूचना प्रविधिको युग भने पनि गाउँ टोलसम्म इन्टरनेट, विद्युत र डिजिटल उपकरणहरू नहुँदा प्रविधिमैत्री शिक्षा सम्भव हुन सकेको छैन। यी यावत समस्याबाट यहाँहरू पनि अछुतो हुनुहुन्न भन्ने मैले महसुस गरेको छु।
विभिन्न समयमा यस जिल्लाका विभिन्न तहमा प्रतिनिधित्व गर्नुहुने जनप्रतिनिधिहरूले जग्गाको समस्या हल गर्न, बजेट विनियोजन, पुस्तकालयका लागि पुस्तक तिनै तहका सरकारको तर्फबाट बजेट प्राप्त भएको विषय मननयोग्य छ। तर, राज्यका तर्फबाट विद्यालयको भौतिक पूर्वाधार निर्माण तथा शैक्षिक गुणस्तर वृद्धिका लागि अझैँ धेरै सहयोगको खाँचो छ भन्ने मैले यहाँ आइसकेपछि महसुस गरेको छु। यहाँका जनप्रतिनिधि लगायत खासगरि यस बलेफी गाउँपालिकाको शिक्षाको विकासका लागि गरेको प्रयास र योगदान सह्रानीय छ। तपाईंहरूसँग सहकार्य गर्दै मैले मेरो तहबाट हुन सक्ने सहयोगका लागि फेरि पनि प्रतिवद्धता दोहोर्याउँछु।
अन्तमा, जालपादेवी माध्यमिक विद्यालयको स्वर्ण जयन्तीको अवसरमा सम्मानित तथा पुरस्कृत हुनुभएका सबैलाई हार्दिक बधाइका साथै विद्यालयको निरन्तर उन्नति र प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दै मेरा भनाइ यही टुङ्ग्याउँछु। धन्यवाद।













