आजदेखि धरहरा प्रवेशमात्रै गर्नेलाई ५० रुपैयाँ ,चढ्न २ सय शुल्क

काठमाडौं : आजदेखि धरहरा चढ्न शुल्क तिर्नुपर्ने भएको छ। धरहरा चढ्न प्रतिब्यक्ति २ सय रुपैयाँ  शुल्क लाग्ने भएको हो। गत बिहिबार बसेको मन्त्रिपरिषद बैठकले सशुल्क रुपमा धरहरा सञ्चालन गर्न स्वीकृति दिएसँगै २ सय रुपैयाँ तिरेर चढ्नु पर्ने भएको हो। धरहरा परिसरमा प्रवेशमात्रै गर्नेहरुलाई भने ५० रुपैयाँ शुल्क तोकिएको छ ।

विशिष्ट संरचना सञ्चालन र व्यवस्थापन विकास समिति गठन आदेश २०८१ बमोजिम धरहरा सञ्चालन नहुँदासम्म हाललाई शहरी विकास भवन निर्माण तथा आवास विभागको प्रस्तावमा सर्वसाधारणका लागि २०० रुपैयाँ शुल्क लिई धरहरा सञ्चालन गर्न स्वीकृत दिइएको छ। सोही अनुसार सार्क मुलुकलाई ५००, सार्क मुलुकबाहेक अन्य मुलुकका नागरिकलाई १ हजार तोकिएको छ।

यस्तै शहरी विकास भवन निर्माण तथा आवास विभागले धरहरा परिसर प्रवेश शुल्क ५० रुपैयाँ तोकेको छ। यस्तै चार पाङग्रे सवारी साधनको लागि २० रुपैयाँ र दुई पांग्रेको लागि १० रुपैयाँ पार्किङ शुल्क लाग्ने भएको छ।

भुकम्पपछि निर्माण गरिएको धरहरा असोज ३ गते संविधान दिवसको दिनबाट खुला गरिएको थियो। सञ्चालनमा ल्याएको दुई महिना नबित्दै लिफ्ट बिग्रिएर बन्द भएको थियो।

प्रतिक्रिया
सम्बन्धित खवर