साल्ट ट्रेडिङको जनकपुर शाखाबाट तीन महिनामा पाँच करोडको नुन बिक्री

साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड शाखा कार्यालय जनकपुरधामले चालु आर्थिक वर्षको तीन महिनामा रु पाँच करोड २३ लाख बराबरको आयोडिनयुक्त नुन बिक्रीवितरण गरेको छ।

कार्यालयले चालु आर्थिक वर्ष २०८१/८२ को साउन महिनादेखि असोज महिनासम्म आफ्नो डिलरमार्फत ४५ हजार तीन सय ७० बोरा नुन बिक्री गरेको कार्यालय प्रमुख शुभनारायण साहले जानकारी दिए।

धनुषा, महोत्तरी तथा सिन्धुली कार्यक्षेत्र रहेको सो कार्यालयले तीनवटै जिल्लामा २५ डिलरमार्फत आयोडिनयुक्त नुन बिक्रीवितरण गर्दै आएको छ। चालु आर्थिक वर्षमा प्रतिबोरा आयोडिनयुक्त नुन रु एक हजार एक सय ५० का दरले डिलरमार्फत बिक्री भइरहेको प्रमुख साहले बताए।

कार्यालयले दसैँ, तिहार तथा छठ पर्वलाई लक्षित गरी सुपथ मूल्यका पसलसमेत सञ्चालन गरी नुन बिक्री गरिरहेको छ। गत असोज ७ गतेदेखि यही कात्तिक २९ गतेसम्मका लागि सञ्चालन गरिने ती पसलबाट असोज ३० गतेसम्ममा चार हजार छ सय प्याकेट नुन बिक्री गरेको प्रमुख साहले बताए।

प्रतिक्रिया
सम्बन्धित खवर