सिन्धुपाल्चोकको चौतारा अस्पतालमा डाइलाइसिस सेवा सुरू

सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका– ५ कि ४५ वषीया सर्मिला तामाङ ६ वर्षदेखि मिर्गौलाको उपचारको लागि काठमाडौं धाइरहेकी छिन् । जिल्लामा डाइलाइसिस सेवा नहुँदा महंगो खर्च गरेर उनी राजधानीमा उपचार गराइरहेकी हुन्।

आइतबारदेखि सिन्धुपाल्चोकको चौतारा अस्पतालमा डाइलाइसिस सेवा सुरू भएसँगै उपचारमा सहजता हुने उनी बताउँछिन् । अस्पतालले डाइलाइसिस सेवा सुरु गरेपछि पहिलो सेवाकर्ता बनेकी उनले काठमाडौंमा उपचार गराउँदा निक्कै झन्झट व्यहोर्नु परेको बताइन् ।

चौतारा अस्पतालले डाइलाइसिस सेवा सुरु गरेपछि उपचारको लागि झन्झट बेहोर्न नपर्नेमा उनी आशावादी छिन् । ‘सेवा सुरु त भयो, तर बिरामी भएनन् भने बन्द हुने हो कि भन्ने लाग्छ ।’

रिफर सेन्टरको रुपमा बदनाम कमाएको अस्पतालले पछिल्लो समयमा उपचार सेवामा उल्लेख्य सुधार गरेको छ । कुनै समय सामान्य बिरामीलाई समेत अन्य अस्पतालमा रिफर गर्ने गरको भनि स्थानीयको आलोचना खेपेको अस्पतालमा सेवामा सुधारसँगै डायलासिस सेवा समेत पाएपछि बिरामीहरू खुसी भएका हुन् ।

अस्पतालमा हाल ५ वटा डायलसिस गर्ने उपकरण छन् । १ पटकमा ५ जना बिरामीलाई सो सेवा दिनको लागि १ जना डाक्टर र ३ जना तालिम प्राप्त नर्सले सेवा दिनेछन् ।

एकजना मिर्गौला पीडितले हप्तामा कम्तिमा २ पटक डायलासिस गर्नैपर्छ । यसको लागि मंहगो अस्पताल  जानुपर्ने बाध्यता भने हटेको छ।

यो सेवा नहुँदा बिरामीलाई बाहिर पठाउनुपर्ने बाध्यता रहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.रुद्रमणी भण्डारीले बताए । अस्पतालमा हाललाई सो सेवा निःशुल्क प्रदान गरिएको उनले जनाए ।

प्रतिक्रिया
सम्बन्धित खवर