साफ यु-२० च्याम्पियनसिप : बंगलादेशलाई हराउँदै नेपाल समूह विजेता

साफ यू-२० च्याम्पियनसिपअन्तर्गत समूह ‘ए’ को विजेता बन्दै नेपाल सेमिफाइनल पुगेको छ।

बिहीबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको समूहको अन्तिम खेलमा बंगलादेशलाई २-१ गोलले हराएर नेपाल अन्तिम चारमा पुगेको हो।

यसअघि आफ्नो पहिलो खेलमा श्रीलंकालाई हराएका दुवै टोली सेमिफाइनलमा पुगिसकेका थिए। अर्को समूहबाट भारत, माल्लिभ्स र भुटान मध्ये दुई टोली सेमिफाइनल पुग्नेछन्।

खेलको १७ मिनेटमा समिर तामाङको गोलबाट नेपालले अग्रता लियो।

बंगलादेशका गोलकिपर मेहदी हसन स्राबोन अघि बढेको अवस्थामा समिरले बल खोस्दै खाली पोष्टमा गोल गरे । १८ मिनेटमा निराजन धामीले गोल गर्दै नेपालको अग्रता दोब्बर पारे । उनले अविनाश स्याङ्गतानको क्रसमा वान टचमा गोल गरेका थिए । जारी च्याम्पियनसिपमा निराजनको यो दोस्रो गोल हो । उनले श्रीलंकाविरुद्ध पहिलो ख्लमा पनि गोल गरेका थिए ।

३६ मिनेटमा निराजन धामीको फ्रि हेडर पोष्ट नजिकबाट बाहिर जाँदा नेपालले अग्रता बढाउने असर गुमायो ।४३औं मिनेटमा बंगलादेशका लागि इस्लामले पेनाल्टीमा गोल गरे ।

यसअघि नै नेपाल र बंगलादेशले सेमिफाइनलमा स्थान पक्का गरिसकेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर