पूर्वप्रधानमन्त्री सुशील कोइरालाको आज ८५औँ जन्मजयन्ती मनाइँदै

तत्कालीन नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री सुशील कोइरालाको ८५औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । विसं १९९७  साउन २८ गते जन्मनुभएका सभापति कोइरालाका प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाबाट प्रभावित भएर राजनीतिमा लागेका थिए । संविधानसभामा प्रतिनिधित्व गर्ने सबै दललाई मिलाएर कोइरालाको नेतृत्वमा २०७२ असोज ३ गते संविधान जारी भएको थियो ।

फलःस्वरुप नेपाली जनताको २००७ सालदेखिको चाहनाबमोजिम संविधानसभाबाट संविधान बनाउने अभिभारा स्वर्गीय नेता कोइरालाको कार्यकालमा पूरा भयो । उनले सधैँ सत्यको वकालतका साथै सादगी जीवनयापन गरे । जनचाहना बमोजिम संविधानसभाबाट संविधान जारी गराउन नेतृत्वदायी भूमिका निर्वाह गरेका पूर्वप्रधानमन्त्री कोइराला जीवनको अन्तिम क्षणसम्म पनि संविधानको प्रभावकारी कार्यान्वयनका लागि क्रियाशील रहेका थिए ।

मुलुकमा राजनीतिक परिवर्तनका लागि विभिन्न समय र कालखण्डमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएका कोइरालाले जीवनपर्यन्त प्रजातान्त्रिक सिद्धान्त अनुकूलको आचरण गरेका कारण नेपाली राजनीतिमा सादगी नेताका रूपमा परिचय स्थापित छ ।

राजनीतिमा निष्ठा, इमान्दारिता र सादगीको शक्ति कति हुन्छ भन्ने कुरालाई स्थापित गर्न उनको योगदान महत्त्वपूर्ण छ ।

स्वर्गीय नेता कोइरालाको स्मरणमा अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा आज मुलुकभर विभिन्न कार्यक्रम गरिनेछ ।

प्रतिक्रिया
सम्बन्धित खवर