त्रिशूलीमा बेपत्ता बस यात्रुको खोजी गर्न चीनलाई गुहार्ने सरकारको तयारी

सरकारले चितवनको सिमलतालबाट त्रिशूली नदीमा खसेका दुई बस र बेपत्ता यात्रुको खोजीका लागि चीनलाई गुहार्ने तयारी गरेको छ ।

बुधबार बसेको राज्य व्यवस्था समितिको बैठकमा गृहसचिव एकनारायण अर्यालले सिमलतालबाट त्रिशूली नदीमा खसेका दुई बस र बेपत्ता यात्रुको खोजीमा सघाउन चीन सरकारलाई अनुरोध गर्ने तयारी भइरहेको बताएका हुन् ।

‘सिमलताल दुर्घटनामा बेपत्ता भएकामध्ये २४ जनाको शव फेला परेको छ । तीमध्ये पाँच जनाको सनाखत हुन बाँकी छ,’ गृहसचिव अर्यालले भने, ‘३५ जना अझै बेपत्ता छन् । उनीहरूको खोजीका लागि चीन सरकारलाई अनुरोध गर्ने तयारी गरेका छौँ ।’

गृहसचिव अर्यालले २ सय ५० किलोमिटरभन्दा बढी चल्ने सवारीमा दुई जना चालक अनिवार्य गर्ने तयारी गरिएको बताए । उनका अनुसार यात्रा गर्दा यात्रुको टिकट अनिवार्य गर्न पनि यातायात व्यवसायीलाई भनिएको छ ।

यसअघि भारतीय टोलीले दुर्घटनास्थल आएर खोजी गरेको थियो । तर, बस खोजी गर्ने क्रममा गत शनिबार १९ किलोको चुम्बक र लाइफ ब्वाई ट्युब त्रिशूली नदीले बगाएपछि भारतीय टोली फर्किएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर