पोखरामा स्कुल बस दुर्घटना: आमाछोराको मृत्यु , २१ विद्यार्थी घाइते

पोखरा महानगरपालिका वडा नम्बर २१ गुड्कुमा भएको स्कुल बस दुर्घटनामा मृत्यु भएकी ३३ वर्षीय आरती विकका छोरा ६ वर्षीय प्रिन्सु विकको पनि उपचारका क्रममा मृत्यु भएको छ।

उनको गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको कास्की प्रहरी प्रमुख एसपी मोहन थापाले बताए।

‘आमाले छोरालाई काखमा लिनुभएको रहेछ, आमाको मृत्यु भइसकेपछि उपचारकै क्रममा छोराको पनि मृत्यु भयो,’ एसपी थापाले भने।

बस दुर्घटना भएपछि कास्की प्रहरी प्रमुख एसपी थापाको कमाण्डमा ५५ जना प्रहरी उद्धारमा खटिएका थिए।

सोमबार विहान ग १ क ६२१९ नम्बरको स्कुल बस रामदीबाट पोखरा आउँदै गर्दा ५० मिटर तल खसेर दुर्घटना भएको थियो।

पोखराको बिरौटामा रहेको एलपी देवकोटा मेमोरियल बोर्डिङ स्कुलका विद्यार्थी लिएर आउँदै गर्दा उक्त दुर्घटना भएको थियो।

दुर्घटनामा परेर विद्यार्थी र बस चालक तथा सहचालक गरी २८ जना घाइते भएका छन्। उनीहरुको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, मणिपाल अस्पताल र गण्डकी शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर