बंगलादेशबाट काठमाडौं फर्किए नेपाली विद्यार्थी

बंगलादेशमा अध्ययनरत नेपाली विद्यार्थीहरू स्वदेश फर्किएका छन्। आरक्षण कोटाको विरोधमा चर्किदै गएको आन्दोलनका कारण बंगलादेशमा तोडफोड र सयभन्दा बढीको ज्यान गएपछि देशभर कर्फ्यू लगाइएको छ।

बंगलादेशमा सरकारी सेवामा रहेको कोटा प्रणाली खारेजीको माग गर्दै भएको आन्दोलनका कारण समस्या उत्पन्न भएको हो । आन्दोलन थप भड्किएपछि त्यहाँको सरकारले शनिबारदेखि कर्फ्यू लगाएको छ । बंगलादेशमा रहेका अन्य नेपालीलाई सुरक्षित स्थानमा रहन र बाहिर ननिस्किन आग्रह गरिएको छ ।

बंगलादेशबाट आज नेपाल फर्किएका विद्यार्थी सदीक्षा बस्नेतले आफूहरू एमबीबीएस पढ्न ३ महिनाअघि मात्रै गएको बताइन् ।

उनले भनिन्, ‘एमबीबीएस पढ्न ३ महिनाअघि मात्रै गएका थियौं । यस्तो अवस्था आएपछि हामी तीन चार दिनअघि देखि नै आउन खोजेका थियौं । ढाकाको कलेज हो हाम्रो । हामीले कम्युनिकेसनबाट टाढा गरेको थियो । त्यहाँको प्रधानमन्त्री भागेर स्पेन गइसक्नुभएको छ । हामीलाई नोटिस आएको दिनदेखि नै धेरै नै साथी फर्किसक्नुभएको छ । हामीलाई कलेजले सेभ छ भनिरह्यो ।’

परराष्ट्र मन्त्रालयले एक सूचना जारी गर्दै बङ्गलादेशमा रहनुभएका नेपाली विद्यार्थीहरू सम्बन्धमा अनलाइन निवेदन दिन अभिभावकसँग अनुरोध गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर