काठमाडौं । भोटेकोसी बाढीपहिरो प्रभावित क्षेत्रमा खोज तथा उद्धार, राहत वितरण, स्वास्थ्य सेवा र पुनर्स्थापनामा वाईसीएल सक्रिय भएको छ। वाईसीएलले घाइते तथा विस्थापितलाई सुरक्षित स्थान र होल्डिङ सेन्टरसम्म पुर्याउने, खाना खुवाउने तथा आवश्यकताअनुसार काठमाडौंसम्म ल्याउने काम गरेको जनाएको छ।
वाईसीएल नुवाकोटका अध्यक्ष जलन गजुरेलका अनुसार संगठनले स्थानीय तह, जिल्ला प्रशासन तथा विभिन्न संघसंस्थासँग समन्वय गरी राहत वितरण, स्वास्थ्य शिविर, सरसफाइ र श्रम अभियान सञ्चालन गरिरहेको छ। प्रभावित क्षेत्रमा पुग्न वैकल्पिक सडक मार्गको खोजीसमेत गरिएको उनले बताए।
वाईसीएलले खोज तथा उद्धार अभियानलाई थप प्रभावकारी बनाउन देशभर जनशक्ति परिचालन गर्ने तयारी गरेको जनाएको छ।अभियानका क्रममा फेला परेका करिब ५० तोला सुन, ७० तोला चाँदी, ल्यापटप, नगदलगायतका सामग्री सम्बन्धित व्यक्तिको पहिचान गरी फिर्ता गरिएको वाईसीएलले जनाएको छ।








