रसुवामा गएको बाढीका कारण सम्पर्कविहीन बनेका रसुवागढी भन्सार कार्यालयका कर्मचारीहरूको खोजी तथा उद्धार कार्य तीव्र पारिएको छ। अर्थ मन्त्रालयले हालै सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार भन्सार कार्यालयमा कार्यरत कर्मचारीहरूको खोजी, उद्धार र समन्वयको काम भैरहेको हो ।
मन्त्रालयका अनुसार रसुवा भन्सार कार्यालयमा कुल ३६ वटा स्थायी दरबन्दी रहेका छन्। यसमध्ये प्रमुख भन्सार प्रशासक राजेन्द्र ढुंगानासहित २५ जना स्थायी कर्मचारी सकुशल सम्पर्कमा आएका छन्।

त्यस्तै, कार्यालयमा कार्यरत ४ जना करार र ज्यालादारी कर्मचारीमध्ये १ जना सम्पर्कमा आएका छन्। हालसम्म सम्पर्कमा नआएका ११ जना स्थायी कर्मचारी र ३ जना करार/ज्यालादारी कर्मचारी गरी कुल १४ जनाको खोजी तथा उद्धारकार्य जारी रहेको छ।
बाढी प्रभावित क्षेत्रमा सुरक्षाकर्मी र सम्बन्धित निकायको समन्वयमा बाँकी कर्मचारीहरूको खोजी कार्यलाई प्राथमिकताका साथ अघि बढाइएको मन्त्रालयले जनाएको छ।








