अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा सर्भेक्षक पदमा कार्यरत विन्देश्वर साह सुडीविरुद्ध ३ करोड ७१ लाख ८४ हजार ५ सय ५१ रुपैयाँ ८० पैसा बिगो कायम गरी विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको छ ।
साहले पदमा रहँदा आफ्नो वैधानिक आयभन्दा अस्वाभाविक रूपमा बढी सम्पत्ति आर्जन गरी गैरकानुनी सम्पत्ति जोडेको अख्तियारको आरोप छ ।
आयोगका अनुसार उनले २०४६ साल असोज १६ गतेदेखि २०८१ साल वैशाख ३२ गतेसम्मको अवधिमा विभिन्न स्रोतबाट प्राप्त आम्दानी र सो अवधिमा गरेको खर्च तथा लगानीको विश्लेषण गर्दा ठूलो रकम बराबरको सम्पत्ति गैरकानुनी रूपमा आर्जन गरेको देखिएको हो ।

अख्तियारका अनुसार साह तथा उनका एकाघर परिवारका सदस्यहरूले पारिश्रमिक, भत्ता, घरजग्गा बिक्री, एकासगोलको आय, ऋण तथा सापटी, शेयर बिक्री, बीमा परिपक्व÷समर्पण, कृषि आय, छात्रवृत्ति, ब्याज तथा ऋण सापटी फिर्तालगायत विभिन्न शीर्षकबाट जम्मा ६ करोड ३ लाख ३५ हजार ३० रुपैयाँ १५ पैसा वैधानिक आय आर्जन गरेको देखिएको छ ।
तर सोही अवधिमा जग्गा तथा शेयर खरिद, सवारीसाधन खरिद, बीमा प्रिमियम, अध्ययन खर्च, ऋण तथा सापटी तिरेको रकम, बैंक मौज्दात, ऋण लगानी, जग्गा खरिदसम्बन्धी कमिसन तथा अन्य खर्चसहित ९ करोड ७५ लाख ६९ हजार ५ सय ८१ रुपैयाँ ९५ पैसा बराबरको व्यय तथा लगानी गरेको आयोगको अनुसन्धानबाट खुलेको छ ।
वैधानिक आयभन्दा ३ करोड ७१ लाख ८४ हजार ५ सय ५१ रुपैयाँ ८० पैसा बढी खर्च तथा लगानी गरेको देखिएपछि उक्त रकम बराबरको सम्पत्ति गैरकानुनी रूपमा आर्जन गरेको निष्कर्षमा अख्तियार पुगेको हो ।
आयोगले साहले सार्वजनिक सेवाको पदमा रहँदा अख्तियारको दुरुपयोग गरी गैरकानुनी रूपमा आर्जन गरेको सम्पत्ति उनकी श्रीमती सुमित्रा देवी साहको नाममा समेत रहेको देखिएको प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए ।








