राष्ट्र, राष्ट्रियता, धर्म र संस्कृति रक्षाका लागि भन्दै दुई महिनाअघि मात्रै नयाँ राजनीतिक शक्ति निर्माणमा हात मिलाएका पूर्वसांसद डा. धवल शम्शेर राणा र राष्ट्रिय अभियानका संयोजक दुर्गा प्रसाईंबीच निर्वाचन आयोगमा दल दर्ता नपुग्दै औपचारिक विभाजन आएको छ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को महामन्त्री पद त्यागेका धवल शम्शेर राणाले शुक्रबार निर्वाचन आयोगमा पुगेर ‘जय नेपाल पार्टी’ दर्ताका लागि निवेदन दिने तयारी गरेका छन्। तर, अघिल्लो दिनसम्म सहयात्रामा रहेका दुर्गा प्रसाईं र उनको समूह भने उक्त प्रक्रियाबाट अलग भएको छ।

राजसंस्था पुनर्स्थापना र हिन्दु राष्ट्र निर्माणको एजेन्डामा दुई महिनाअघि धवल र दुर्गाबीच सहकार्यको सुरुवात भएको थियो।
सुरुवाती सहमति अनुसार धवल शम्शेर अध्यक्ष र दुर्गा प्रसाईंलाई ‘सर्वोच्च नेता’ बनाएर १०१ सदस्यीय केन्द्रीय कमिटी गठन गर्ने तय भएको थियो। जसमा धवल पक्षका ४०, प्रसाईं पक्षका ४० र तटस्थ २० जना रहने खाका बनाइएको थियो। चुनाव चिह्न ‘त्रिभुज’ राख्ने सहमतिसमेत भइसकेको थियो।
तर, दल दर्ताको अन्तिम तयारी भइरहँदा पार्टीमा ‘को शक्तिशाली हुने’ र वरीयता कसको माथि रहने भन्ने विषयमा दुई नेताबीच हानाथाप सुरु भयो।
प्रसाईंले पार्टीको पहिलो वरीयतामा आफू रहनुपर्ने र महत्त्वपूर्ण कार्यकारी अधिकार बाँडफाँड हुनुपर्ने अडान राखेका थिए। धवल पक्षले भने प्रसाईंको यो मागलाई अस्वीकार गर्यो।
विवाद चुलिँदै जाँदा प्रसाईंले एक अन्तर्वार्तामा ‘राणाहरू राजा ल्याउन चाहँदैनन्’ भन्दै धवल शम्शेरप्रति लक्षित टिप्पणी गरेपछि दुई नेताबीचको दूरी झनै फराकिलो बन्यो।








