मंसिर २, काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल–चीनबीचको व्यापारिक तथा पारवहन सम्बन्धलाई सहज बनाउन तातोपानी नाका तत्काल सञ्चालनमा ल्याउन चिनियाँ पक्षसँग आग्रह गर्नुभएको छ।
नेपाल भ्रमणमा रहेका चाइना पिपुल्स एसोसिएसन फर फ्रेन्डसिप विथ फरेन कन्ट्रिजका अध्यक्ष याङ वानमिङसँग सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको शिष्टाचार भेटवार्ताका क्रममा मन्त्री खनालले तातोपानी नाका तत्काल खुलाउन सम्बन्धित चिनियाँ निकायसँग विशेष पहल गरिदिन आग्रह गर्नुभएको हो।
भेटका क्रममा मन्त्री खनालले केही समयअघि आएको बाढीका कारण रसुवागढी नाका बन्द रहेको र हिउँदको समयमा चीनसँग जोडिएका अन्य उच्च हिमाली नाकासमेत पूर्ण रूपमा सञ्चालन हुन नसक्ने अवस्था रहेको बताउनुभयो। यस्तो अवस्थामा काठमाडौंसँग सबैभन्दा नजिक रहेको तातोपानी नाका सञ्चालनमा ल्याउनु आवश्यक रहेको उहाँको भनाइ थियो।
‘तातोपानी नाका काठमाडौंबाट सबैभन्दा कम दूरीमा रहेको र यो नाका ऐतिहासिक मित्रतापूर्ण सम्बन्धको प्रतीकका रूपमा रहेको छ,’ मन्त्री खनालले भन्नुभयो, ‘यसैले यो नाकालाई हाम्रा दुई मुलुकबीचको कनेक्टिभिटीका लागि तत्काल खुलाउन जरुरी छ।
’ जवाफमा अध्यक्ष याङ वानमिङले तातोपानी नाका सञ्चालनका विषयमा सम्बन्धित निकायसँग आवश्यक समन्वय गरेर काम गर्ने बताउनुभएको थियो। भेटवार्ताका क्रममा नेपाल र चीनबीचको व्यापार, पूर्वाधार विकास, जलवायु परिवर्तन, जनस्तरको सम्बन्ध तथा शिक्षा लगायतका विविध विषयमा समेत छलफल भएको थियो।













