काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सिन्धुपाल्चोकको साउन २२ गते हुने जिल्ला अधिवेशनमा जिल्ला सभापति पदका आकांक्षीमध्ये कुमार श्रेष्ठ पनि रहेका छन्। पार्टीको र्याट विभागमा करिब चार वर्ष कार्य गरेर संगठनात्मक अनुभव हासिल गरेका श्रेष्ठले संगठनलाई जिल्लाभर थप सुदृढ, सक्रिय र प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
उनका अनुसार संगठन विस्तार, कार्यकर्ताबीच समन्वय, पारदर्शी नेतृत्वको विकास तथा जनतासँग प्रत्यक्ष जोडिने पार्टी संरचना निर्माण आफ्नो प्रमुख प्राथमिकता हुनेछ।

जिल्ला सभापति पदका लागि पासाङ तामाङ, जेपी सिलवाल, चक्रपाणि सिग्देल र दिलराम (दिलमान) श्रेष्ठले पनि उम्मेदवारी घोषणा गरेका छन्। विभिन्न पृष्ठभूमिका पाँच उम्मेदवार प्रतिस्पर्धामा उत्रिएकाले यसपटकको जिल्ला अधिवेशनलाई नेतृत्व चयनका दृष्टिले निकै चासोका साथ हेरिएको छ।
रास्वपाको जिल्ला नेतृत्व चयन गर्ने साउन २२ गतेको अधिवेशनले आगामी संगठनात्मक दिशा, कार्यशैली तथा स्थानीय तहमा पार्टीको भूमिकालाई निर्धारण गर्ने अपेक्षा गरिएको छ। नयाँ नेतृत्वले संगठन विस्तार, कार्यकर्ता परिचालन र जनसरोकारका मुद्दामा पार्टीको उपस्थितिलाई थप प्रभावकारी बनाउने विश्वास गरिएको छ।








