काठमाडौं । वर्षौंदेखि अलपत्र अवस्थामा रहेको नेपाल–चीन सीमा जोड्ने तातोपानी नाका, अरनिको राजमार्ग तथा ईको पहिरो प्रभावित क्षेत्रको व्यवस्थापन प्रक्रिया अघि बढ्ने भएको छ।
सिन्धुपाल्चोक क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य भरतप्रसाद पराजुलीले केही दिनअघि प्रतिनिधिसभामा तातोपानी नाका, अरनिको राजमार्ग र पहिरोको उच्च जोखिममा रहेका बस्तीबारे आवाज उठाएका थिए। त्यसलगत्तै उनले अर्थ मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय लगायत सम्बन्धित निकायसँग छलफल गरी समस्या समाधानका लागि पहल गरेका हुन्।

छलफलमा वर्षायाममा पहिरोका कारण पटक–पटक अवरुद्ध हुने सडकलाई तत्काल सडक डिभिजन कार्यालय र सम्बन्धित निकायको समन्वयमा सञ्चालनमा ल्याउने तथा वर्षायाम समाप्त भएपछि स्थायी रूपमा सडक र जोखिमयुक्त बस्ती व्यवस्थापन गर्ने विषयमा सहमति भएको बताइएको छ।
यसैबीच, दीर्घकालीन समाधानका लागि चिनियाँ प्राविधिक टोलीसँग समेत आवश्यक समन्वय र छलफल भइरहेको जानकारी प्राप्त भएको छ। नेपाल–चीन व्यापार तथा आवागमनका लागि महत्वपूर्ण मानिने तातोपानी नाका र अरनिको राजमार्गको स्तरोन्नति तथा पहिरो नियन्त्रणको काम अघि बढ्ने अपेक्षाले स्थानीयवासी र व्यवसायीमा आशा बढेको छ।








