काठमाडौं। गणेश नेपालीको आत्मदाहपछि भएको मृत्यु प्रकरणलाई लिएर अखिल नेपाल यातायात मजदुर संघले राज्यको भूमिका प्रति गम्भीर असन्तुष्टि जनाउँदै निष्पक्ष छानबिन, दोषीमाथि कारबाही र पीडित परिवारलाई उचित राहतको माग गरेको छ।
संघका अध्यक्ष दीपक के.सी.द्वारा जारी विज्ञप्तिमा काठमाडौं उपत्यकामा यातायात मजदुरका लागि पार्किङ, यात्रु चढाउने–ओराल्ने स्थान, सार्वजनिक शौचालय तथा विश्रामस्थलजस्ता आधारभूत पूर्वाधारको अभाव रहेको उल्लेख गरिएको छ। राज्यले आवश्यक सुविधा उपलब्ध गराउनुको सट्टा चर्को जरिवाना र दण्डात्मक कारबाहीलाई प्राथमिकता दिँदा श्रमिकहरू मानसिक तनावमा पुगेको संघको आरोप छ।

महानगर प्रहरीले ह्विल लक लगाएपछि उत्पन्न विवाद र त्यसपछिको घटनामा उद्धार तथा उपचार प्रक्रियामा समेत गम्भीर कमजोरी भएको दाबी गर्दै संघले घटनाको सत्यतथ्य सार्वजनिक गर्न उच्चस्तरीय छानबिन समिति गठन गर्न माग गरेको छ।
संघले मृतकका परिवारलाई उचित क्षतिपूर्ति, राहत तथा दीर्घकालीन जीविकोपार्जनको व्यवस्था गर्न, श्रमिकमैत्री पूर्वाधार निर्माण गर्न, दण्डमुखी नीतिको सट्टा सेवामुखी ट्राफिक व्यवस्थापन लागू गर्न, नीति निर्माणमा सरोकारवालाको सहभागिता सुनिश्चित गर्न तथा सडकमा भइरहेको भनिएको दमन रोक्न सात बुँदे माग अघि सारेको छ।
माग सम्बोधन नभए संविधानप्रदत्त अधिकारको संरक्षणका लागि चरणबद्ध, सशक्त र शान्तिपूर्ण आन्दोलन घोषणा गर्न बाध्य हुने चेतावनी पनि संघले दिएको छ। 









