राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद भरत पराजुलीले सरकारले आगामी १० वर्षभित्र ३० हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यलाई नेपालको आर्थिक भविष्यसँग प्रत्यक्ष जोडिएको दीर्घकालीन योजना भएको बताएका छन्। उनका अनुसार यो लक्ष्य केवल ऊर्जा उत्पादनमा सीमित नभई औद्योगिक विकास, रोजगारी सिर्जना र आर्थिक समृद्धिको आधार बन्नेछ।
उनले उक्त लक्ष्य हासिल गर्न सरकारले नीतिगत, कानुनी तथा प्रशासनिक अवरोध हटाउने काम गरिरहेको बताए। जलविद्युत् आयोजनाहरूमा जग्गा अधिग्रहण, मुआब्जा विवाद, वन क्षेत्र प्रयोग अनुमति तथा रुख कटान स्वीकृतिमा हुने ढिलाइले परियोजनाहरू प्रभावित हुने गरेको उनको भनाइ छ। वातावरण संरक्षण आवश्यक भए पनि प्रक्रियागत जटिलताले लगानीमैत्री वातावरण बनाउन चुनौती थपेको उनले उल्लेख गरे।

सांसद पराजुलीले प्रसारण लाइन निर्माणमा हुने ढिलासुस्तीका कारण उत्पादन सम्पन्न भइसकेका आयोजना पनि पूर्ण क्षमतामा सञ्चालन हुन नसकेको बताए। साथै, वर्षायाममा उत्पादन हुने अतिरिक्त विद्युत्को आन्तरिक खपत विस्तार र निर्यात बजार सुनिश्चित गर्नु अहिलेको प्रमुख आवश्यकता रहेको उनको धारणा छ। उत्पादन वृद्धि सँगसँगै बजार व्यवस्थापन र पूर्वाधार विकासमा समान प्राथमिकता दिनुपर्नेमा उनले जोड दिएका छन्।
सांसद पराजुलीले सरकार, निजी क्षेत्र र सरोकारवाला निकायबीच प्रभावकारी समन्वय भएमा ३० हजार मेगावाट उत्पादनको लक्ष्य हासिल गर्न सकिने विश्वास व्यक्त गरे।








