काठमाडौँ । आगामी असार ५ गतेदेखि देशभर प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र आइ एम जीत बहादुर को ट्रेलर सार्वजनिक गरिएको छ। ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको ट्रेलर राजधानी काठमाडौँमा आयोजित विशेष कार्यक्रमबीच सार्वजनिक गरिएको हो।
ट्रेलरमा गाउँबाट ठूलो सपना बोकेर शहर आएका एक युवाले कलाकार बन्नका लागि भोग्नुपरेका संघर्ष, चुनौती र उतारचढावलाई भावनात्मक शैलीमा प्रस्तुत गरिएको छ। चलचित्रमा अभिनेता जितु नेपाल फरक भूमिकामा देखिएका छन्, जहाँ उनले कलाकार बन्ने सपना पछ्याइरहेका युवाको चरित्र निभाएका छन्।

भारतीय बंगाली निर्देशक सुभेन्दु घोष को कथा तथा निर्देशन रहेको चलचित्रमा अभिनेत्री वर्षा राउत मुख्य भूमिकामा छिन्। साथै प्रियंका कार्की, सन्दीप क्षेत्री, देशभक्त खनाल लगायत कलाकारहरूको अभिनय रहेको छ।
कर्मभूमि क्रिएशनको ब्यानरमा निर्माण भएको फिल्मका कार्यकारी निर्माता निश्चल कुँवर र निरज नेपाल हुन्। चलचित्रको छायांकन भारतीय सिनेमाटोग्राफर अरविन्दले गरेका हुन् भने पोस्ट–प्रोडक्सन कार्य भारतमै सम्पन्न गरिएको निर्माण टिमले जनाएको छ। तीन दशक लामो अभिनय यात्रापछि जितु नेपाल का लागि यो चलचित्र विशेष मानिएको छ।








