भरत प्रसाद पराजुली ले सरकारको आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रमलाई पूर्ण समर्थन जनाउँदै यसले जनतामा सकारात्मक परिवर्तनको आशा जगाएको बताएका छन्। संघीय संसदको संयुक्त बैठकमा बोल्दै उनले कार्यक्रमले राजनीतिक परिवर्तनसँगै जनताको तीव्र सुधारको चाहनालाई सम्बोधन गरेको उल्लेख गरे। साथै, नीति तथा कार्यक्रम प्रस्तुत गरेकोमा रामचन्द्र पौडेल प्रति आभार व्यक्त गरे।
सांसद पराजुलीले संविधान संशोधन, शासन सुधार र कानुनी तथा संस्थागत परिवर्तनप्रतिको सरकारी प्रतिबद्धताले विगतका चुनावी वाचा कार्यान्वयन नहुने धारणा गलत सावित गर्ने विश्वास व्यक्त गरे। उनले ७ प्रतिशत आर्थिक वृद्धिदरको लक्ष्यसहित ल्याइएका आर्थिक सुधारका कार्यक्रमले लगानी, उत्पादन र व्यवसायिक वातावरण सुधार गर्ने बताए।

डिजिटल अर्थतन्त्र, नगदरहित कारोबार, कर संरचना पुनरावलोकन तथा मध्यम वर्ग र उद्यमीमैत्री नीतिलाई उनले सकारात्मक कदमको रूपमा व्याख्या गरे। किसानलाई प्रत्यक्ष अनुदान, बालीको समर्थन मूल्य, ग्रामीण अर्थतन्त्र पुनर्जीवन तथा विदेशबाट फर्किएका युवालाई उत्पादनमुखी क्षेत्रमा जोड्ने योजना स्वागतयोग्य रहेको उनको भनाइ थियो।
ऊर्जा, शिक्षा र प्रविधि क्षेत्रमा ल्याइएका महत्वाकांक्षी योजनाले देशको आर्थिक तथा सामाजिक रूपान्तरणमा ऐतिहासिक योगदान पुग्ने दाबी पनि उनले गरे।






