सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–६, गौरातीका १२ वर्षीय मञ्जित खड्का आर्थिक अभावका कारण शिक्षाबाट वञ्चित हुने जोखिममा रहेका बेला महिला सशक्तिकरण तथा बालबालिका उत्थान समाजकी केन्द्रीय अध्यक्ष सरोजा श्रेष्ठले उनको उद्धार गर्दै सम्पूर्ण शैक्षिक जिम्मेवारी ग्रहण गर्नुभएको छ।
केही समयअघि बुबाको निधन भएपछि मञ्जितको परिवार गम्भीर आर्थिक र सामाजिक समस्यामा परेको थियो। यस अवस्थाले उनको भविष्य अन्योलमा परेका बेला अध्यक्ष श्रेष्ठले हस्तक्षेप गर्दै उनको अध्ययन, आवास र आवश्यक सम्पूर्ण खर्च व्यहोर्ने निर्णय गर्नुभएको हो।

मञ्जितलाई जुगल बोर्डिङ हाई स्कुलमा भर्ना गराइएको छ भने उनको बसोबास, पुस्तक, स्टेशनरी, पोशाक लगायत सम्पूर्ण व्यवस्थापन समाजमार्फत गरिने बताइएको छ।
अध्यक्ष श्रेष्ठले प्रत्येक बालबालिकाले शिक्षा र सुरक्षित भविष्य पाउने अधिकार रहेको उल्लेख गर्दै आर्थिक अभावका कारण कुनै पनि बालबालिका पढाइबाट वञ्चित हुन नहुने बताउनुभयो। उहाँका अनुसार बालबालिकाको संरक्षण र शिक्षामा सहयोग गर्नु समाजको साझा दायित्व हो।
स्थानीयवासीहरूले यस कार्यको प्रशंसा गर्दै यस्तो पहलले समाजमा सकारात्मक सन्देश प्रवाह गरेको बताएका छन्। समाजले आगामी दिनमा पनि विपन्न तथा जोखिममा रहेका बालबालिकाको हितमा काम गर्ने प्रतिबद्धता जनाएको छ।













