भुजुङ हाइड्रोपावर लिमिटेडले आज (सोमबार) देखि आइपिओ बिक्री खुला गर्ने भएको छ।
कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरेपछि दोस्रो चरणमा सर्वसाधारणका लागि आइपिओ निष्कासन गरेको हो।

कम्पनीले जारी पुँजी १ अर्ब रूपैयाँको २० प्रतिशत अर्थात २० करोड रूपैयाँ बराबरको २० लाख कित्ता आइपिओ निष्कासन गर्ने अनुमति पाएको थियो।
जसमध्ये कम्पनीले १० लाख कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरूका लागि र १ लाख कित्ता सेयर विदेशमा रोजगार गरी रहेका नेपालीहरूका लागि निष्कासन गरिसकेको छ।
अब भने कम्पनीले दोस्रो चरणमा कर्मचारीहरूका लागि २० हजार कित्ता र सामूहिक लगानी कोषहरूका लागि ५० हजार कित्ता सेयर सुरक्षित राखी बाँकी रहेको ८ करोड ३० लाख रूपैयाँ बराबरको ८ लाख ३० हजार कित्ता सेयर सर्वसाधारण लगानीकर्ताहरूका लागि निष्कासन गरेको हो।
सो आइपिओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा ५० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ।
उक्त आइपिओमा माघ १५ गतेसम्म आवेदन दिन सकिन्छ उक्त समयसम्म सम्पूर्ण कित्ताको लागि आवेदन नपरेमा बिक्री अवधि माघ २६ गतेसम्म लम्बिनेछ।
कम्पनीलाई इक्रा नेपालले ‘इक्रा एनपी इस्युअर रेटिङ सिंगल बी प्लस’ प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको जनाउँछ।






