काठमाडौँ – आज मार्गशीर्ष शुक्ल पूर्णिमा, धान्यपूर्णिमा, देशभर विभिन्न समुदायले आफ्ना–आफ्नै संस्कार अनुसार मनाइरहेका छन्।
सनातन धार्मिक समुदायमा धान्यपूर्णिमाका रूपमा आज धानलाई समृद्धि र लक्ष्मीको प्रतीक मानी पूजा गर्ने परम्परा छ। नयाँ अन्न देवी–देवतामा अर्पण गरी वर्षभरि धन–धान्य वृद्धि होस् भन्ने कामना गरिन्छ।

नेवार समुदायले भने आज यःमरी पुन्हि (योमरी पुन्हि) विशेष रूपमा मनाउँदैछ। नयाँ धानको भित्र्याइँपछि चामलको पिठोबाट बनाइने ‘यःमरी’ देवी–देवतामा अर्पण गरेपछि मात्र खाने परम्परा छ। घर–घरमा आज बिहानैदेखि यःमरी पकाउने र परिवारसँग बाँडेर खाने रमाइलो चल्छ।
यसैगरी किरात समुदायले आज उधौली पर्व मनाइरहेका छन्। बाली भित्र्याइसकेको खुसीयालीमा प्रकृति, पितृ र कुलदेवताप्रति कृतज्ञता व्यक्त गर्दै किरातीहरू विशेष पूजा, नाच–गान र सामुदायिक भेला गर्छन्। उधौलीले हिउँद यामको आगमन र पहाडबाट तल्लो भेगतिर बसाइँ सर्ने परम्परालाई पनि प्रतीकात्मक रूपमा जनाउँछ।
विभिन्न संस्कृतिको आ–आफ्नै शैलीमा मनाइने आजको दिन कृषि, प्रकृति र परम्पराप्रतिको सम्मानसहित देशभर उत्सवमय बनेको छ।













