बालेन्द्र शाहका प्रमुख सल्लाहकार कुमार बेनसहितका व्यक्तिमाथि प्रमाण नष्ट गरेको र अनुसन्धान प्रभावित पारेको आरोप लगाउँदै प्रहरीमा जाहेरी परेको छ।
वाईसीएलका केन्द्रीय सचिव तथा सुर्खेतका धनबहादुर वलीले हुलाकमार्फत जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी पठाएका हुन्। यसअघि सोमबार जाहेरी दिन प्रहरी परिसर पुगे पनि प्रहरीले दर्ता गर्न अस्वीकार गरेपछि उनले हुलाकमार्फत जाहेरी पठाएका हुन्।
जाहेरीमा बेनसहित प्रधानमन्त्री तथा गृहमन्त्रीको सचिवालयमा कार्यरत केही व्यक्तिले प्रहरी हिरासतमा रहेका झापाका इनम सापकोटाको मोबाइलबाट आफूसँग सम्बन्धित प्रमाण मेटाएको र अनुसन्धान प्रभावित पारेको आरोप लगाइएको छ।
सापकोटामाथि सुरुमा अभद्र व्यवहार र पछि सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान भइरहेको छ। उनलाई प्रहरीले नियन्त्रणमा लिएपछि मोबाइल विभिन्न स्थानमा पुर्याइएको र त्यस क्रममा डिजिटल प्रमाणमा अनधिकृत हस्तक्षेप गरिएको दाबी जाहेरीमा गरिएको छ।
जाहेरीसाथ पेस गरिएको फरेन्सिक ल्याबको परीक्षण रिपोर्टलाई उद्धृत गर्दै सापकोटाको मोबाइल असोज १५ गते दिउँसो ४ः३०ः४५ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा लगिएको दाबी गरिएको छ।














