अविरल वर्षा, हावाहुरी, बाढीपहिरो र चट्याङका कारण देशका विभिन्न स्थानमा विद्युत् प्रसारण तथा वितरण संरचनामा क्षति पुगेको छ । केही स्थानमा विद्युत् आपूर्ति अवरुद्ध भएको छ भने नदी तथा खोलामा आएको बाढीका कारण विभिन्न जलविद्युत् केन्द्रको उत्पादन प्रभावित भएको छ ।
कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइनअन्तर्गत म्याग्दीको दानादेखि पर्वतको कुश्मासम्मको खण्डमा टावर नम्बर २१ र २२ मा क्षति पुगेको छ । त्यस्तै, कुश्मा–नयाँ बुटवल खण्डको प्रसारण लाइनमा समेत फल्ट आएको छ । यसका कारण करिडोर प्रसारण लाइनमा जोडिएका करिब ३५८ मेगावाट विद्युत् उत्पादन प्रभावित भएको छ ।

बाढीको जोखिमका कारण कालीगण्डकी, माथिल्लो मादी, सुपर मादी, नामार्जुन मादी, सेती नदी, अपर दोर्दी, माथिल्लो मर्स्याङ्दी, मध्यमर्स्याङ्दी, मोदी ललगायतका जलविद्युत् केन्द्रको उत्पादन सुरक्षाका लागि बन्द गरिएको छ ।
बाढीपहिरोका कारण २२० केभी, १३२ केभी, ३३ केभी तथा ११ केभीका प्रसारण तथा वितरण संरचनामा समेत क्षति पुगेको छ ।
प्रभावित क्षेत्रमा क्षतिको विवरण संकलन, वैकल्पिक व्यवस्थाबाट विद्युत् आपूर्ति सञ्चालन तथा क्षतिग्रस्त संरचनाको तत्काल मर्मतका लागि प्राविधिक तथा मर्मत टोली परिचालन गरिएको छ । सम्भव भएसम्म वैकल्पिक फिडर तथा उपलब्ध प्रसारण/वितरण संरचनामार्फत विद्युत् आपूर्ति सुचारु गर्ने व्यवस्था मिलाइएको छ ।
भारी वर्षा, बाढीपहिरो र अवरुद्ध सडकका कारण केही क्षेत्रमा प्राविधिक टोली पुग्न कठिनाइ भएको छ । सडक तथा पहुँचमार्ग खुल्नासाथ थप टोली र आवश्यक उपकरण परिचालन गरी मर्मत तथा विद्युत् आपूर्ति पुनर्स्थापनाको कार्य तीव्र बनाइनेछ ।








