सन्तानको सपना सिलाउँदा–सिलाउँदै,
बाले आफ्नै सपनाको कपडा च्यातिएको थाहै पाउनुभएनछ।
हाम्रो भविष्यको बाटो सजाउँदै–सजाउँदै,
आफ्नो बाटोमा काँडा उम्रिएको पनि देख्नुभएनछ।
हाम्रो शिरमा घाम नलागोस् भनेर,
बा जीवनभर घाममै उभिनुभयो।
हाम्रो आँखामा आँसु नआओस् भनेर,
आफ्ना आँसुहरू मुस्कानभित्र लुकाउनुभयो।

हामीले नयाँ लुगा लगाएको दिन,
बाको पुरानो कमिज अझ पुरानै थियो।
हामीले नयाँ सपना देखेको दिन,
बाको सपना फेरि एकपटक अधुरै थियो।
सन्तानको खुसी किन्दाकिन्दै,
बाले आफ्नो खुसी बेच्नुभएछ।
हाम्रो जीवन सजाउँदा–सजाउँदै,
बाले आफ्नो जीवन बाँच्नै बिर्सनुभएछ।
आज बुझ्दैछु बा—
तपाईंले हामीलाई केवल जीवन दिनुभएन,
आफ्नो जीवन नै दिएर
हाम्रो भविष्य लेख्नुभयो।
–कवि युवराज कोइराला








