काठमाडौँ । आज हिन्दु नारीहरुको महान पर्व हरितालिका तीज । आइतबार दर खाएर तीज सुरु भएको छ । महिला दिदीबहिनीहरुले आइतबार दर खाने र सोमबार दिनभर व्रत बसेर आआफ्नो श्रीमान् तथा घरपरिवारको सुख समृद्धिको कामना गर्दछन् ।
तिजको दिन निराहार व्रत बस्ने र अघिल्लो साँझ पौष्टिक तत्व भएका खानेकुरा खाने गरिन्छ । माइतीले चेलीबेटीलाई बोलाई दर खुवाउने नेपाली परम्परा छ ।

परम्परागत रूपमा तिजको दर माइतीघरमा मात्र खाने गरिन्छ । केही वर्षदेखि भने राजधानी तथा अन्य क्षेत्रमा एक महिनाअघिदेखि नै दर खाने प्रचलन चलेको छ तर यस वर्ष भोटेकोशीको बाढीपछि तिजको रौनकमा कमी देखिएको छ ।
महिलाले वर्ष दिनभर आफूलाई परेका दुःख, पीर, मर्कालाई पोख्ने पर्वका रूपमा समेत तिजलाई उपयोग गर्ने गरेका छन् । तिजको अवसरमा गीतका माध्यमबाट दुःख, पीर, मर्कालाई नारीले पोख्ने गरेका छन् ।
परापूर्वकालमा देवी पार्वतीले भगवान् शिवलाई पतिका रूपमा पाउन निराहार प्रत बसेको र उहाँको कामना पूरा भएको विश्वासका आधारमा राम्रो पति पाउन र विवाहितले पतिको सुस्वास्थ्य, दीर्घायु र प्रगतिको कामना गर्दै व्रत बस्ने चलन रहेको छ ।








