काठमाडौं । बाढीबाट प्रभावित समुदायको उद्धार तथा राहतका लागि रेन्बो भोलेन्टियर सक्रिय भएको छ। संस्थाले प्रभावित क्षेत्रमा अत्यावश्यक राहत सामग्री वितरण गर्नुका साथै जोखिममा रहेका परिवारको तत्कालीन आवश्यकता पहिचान गर्दै सहयोग गरिरहेको जनाएको छ।
चिनियाँ र नेपाली टोलीको संयुक्त प्रयासमा स्थानीय स्वयंसेवक तथा समुदायसँग सहकार्य गर्दै राहत अभियान सञ्चालन भइरहेको छ। बाढीका कारण सडक तथा यातायात सेवा प्रभावित भए पनि दुवै देशका टोली कठिन परिस्थितिका बीच प्रभावित क्षेत्रमा पुगेर स्थानीय आवश्यकता बुझ्दै समयमै सहयोग उपलब्ध गराइरहेका छन्।

रेन्बो भोलेन्टियरले बाढीबाट अत्यधिक प्रभावित क्षेत्रमा दुईवटा सामुदायिक भान्सा सञ्चालनमा ल्याएको छ। ती भान्सामार्फत बालबालिका, महिला तथा ज्येष्ठ नागरिकसहित दैनिक ६ सयभन्दा बढीलाई खाना उपलब्ध गराइँदै आएको छ। यसैगरी, आवश्यकताका आधारमा प्रभावित परिवारलाई सरसफाइका सामग्रीसहित अन्य अत्यावश्यक राहत सामग्री वितरण भइरहेको छ। प्रभावित समुदायसँग प्रत्यक्ष सम्पर्क र निरन्तर आवश्यकता मूल्याङ्कनका आधारमा राहत सामग्री उपलब्ध गराउने काम भइरहेको संस्थाले जनाएको छ।
स्थानीय सरकार, समुदायका अगुवा तथा स्थानीय बासिन्दासँग सहकार्य गर्दै चिनियाँ र नेपाली टोलीले बाढी प्रभावित परिवारलाई राहत तथा पुनःस्थापनाका लागि आवश्यक सहयोग निरन्तर जारी राख्ने जनाएको छ। बाढीबाट प्रभावित समुदायको तत्कालीन आवश्यकता पूरा गर्दै उनीहरूलाई सामान्य अवस्थामा फर्काउन सहयोग गर्ने उद्देश्यले रेन्बो भोलेन्टियरले आफ्नो अभियानलाई निरन्तरता दिएको छ।








