रसुवा । रसुवाको टिमुरे क्षेत्रमा भदौ १० गते आएको विनाशकारी बाढीपछि सिन्धुपाल्चोककी लक्ष्मी राई आफ्ना श्रीमान् आङ थोङ तामाङको खोजीमा अस्पताल–अस्पताल धाइरहेकी छन्।
बलेफी–४ की लक्ष्मीका श्रीमान् सीमावर्ती क्षेत्रमा सामान ओसारपसार गर्ने ‘सिनो’ कन्टेनर ट्रक चलाउँथे। बाढी आएको दिन उनी घटनास्थल आसपासमै रहेको र त्यसयता सम्पर्कविहीन भएको परिवारले जनाएको छ।

लक्ष्मीका अनुसार भदौ १० गते बिहान करिब ८ बजे श्रीमान्सँग कुराकानी भएको थियो। बिहान ८ः५२ बजेसम्म मोबाइल सक्रिय देखिए पनि साढे १२ बजेसम्म फोनमा घन्टी गएको र त्यसपछि स्वीच अफ भएको उनले बताइन्।
बाढीपछि सडक, पहाड र सम्भावित क्षेत्रमा खोजी गरिए पनि आङ थोङको अवस्था अझै अज्ञात छ। तलबाट अफरोड टोली र माथिबाट समेत खोजी गरिएको छ भने हेलिकप्टरबाट पनि सम्भावित क्षेत्रमा निगरानी गरिएको परिवारको भनाइ छ।
सात महिनाको बच्चाकी आमा लक्ष्मी अहिले घाइते तथा उद्धार गरिएका व्यक्तिको सूचीमा श्रीमान्को नाम खोज्दै अस्पताल पुगिरहेकी छन्।उनले सरकारसँग खोजीको दायरा फराकिलो बनाउन आग्रह गरेकी छन्। ‘सुरुङ–सुरुङ मात्रै नहेर्नुस्, पाखा–पहाडतिर पनि खोजिदिनुस्,’ उनले भावुक हुँदै भनिन्, ‘कतै हुनुहुन्छ कि !’








