काठमाडौं । भोटेकोशी बाढीपछि ज्यान जोगाउन रसुवागढी–टिमुरे नाका हुँदै चीनको केरुङ पुगेका नेपालीलाई तत्काल उद्धार गरी सुरक्षित रूपमा स्वदेश फर्काउन सिन्धुपाल्चोकका सांसद भरतप्रसाद पराजुलीले सरकारसँग माग गरेका छन्।
सोमबार परराष्ट्रमन्त्री शिशिर खनाललाई ज्ञापनपत्र बुझाउँदै सांसद पराजुलीले केरुङको जिलुङलगायत क्षेत्रमा केही नेपाली रहेको सूचना प्राप्त भए पनि उनीहरूको यकिन संख्या र अवस्थाबारे स्पष्ट जानकारी हुन नसकेको बताए। लामो समयदेखि परिवारको सम्पर्कमा नआएपछि आफन्तमा चिन्ता बढेको भन्दै उनले तत्काल खोजी तथा उद्धारको पहल गर्न आग्रह गरे।
पराजुलीका अनुसार रसुवागढी–केरुङ नाकामा कन्टेनर ओसारपसार गर्ने सिन्धुपाल्चोकका ठूलो संख्याका चालक तथा सहचालक कार्यरत छन्। बाढी आएको दिन कतिपय नेपालतर्फ र कतिपय केरुङतर्फ जाँदै गरेको अवस्थामा रहेकाले केही चालक अझै परिवारको सम्पर्कमा नआएको उनले बताए।
उनले चिनियाँ पक्षसँग आवश्यक समन्वय गरी नेपालीको अवस्था यकिन गर्न, उद्धार गरी स्वदेश फर्काउने व्यवस्था मिलाउन तथा केरुङ आसपास रोकिएका नेपाली कन्टेनर सुरक्षित रूपमा नेपाल ल्याउने वातावरण बनाउन पनि सरकारको ध्यानाकर्षण गराएका छन्।
पराजुलीका मागप्रति परराष्ट्रमन्त्री खनाल सकारात्मक देखिएको जनाइएको छ।









