रसुवास्थित भोटेकोसी नदीमा आएको बाढीका कारण जलविद्युत् सञ्चालनमा रहेका र निर्माणाधीन गरी ७५५ आयोजनामा क्षति पुगेको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)का अनुसार, प्राकृतिक विपद्बाट त्रिशूली तथा भोटेकोसी नदी बेसिनमा सञ्चालनमा रहेका तथा निर्माणाधीन दर्जनौँ जलविद्युत् आयोजनामा ठूलो क्षति पुगेको छ ।
विशेषगरी नदी किनार तथा बाढी प्रभावित क्षेत्रमा रहेका आयोजनाका बाँध, हेडवक्र्स, पावर हाउस, पहुँचमार्ग, प्रसारण संरचना, निर्माण सामग्री तथा अन्य भौतिक संरचनामा गम्भीर क्षति पुगेको प्रारम्भिक जानकारी प्राप्त भएको उल्लेख छ ।

प्रारम्भिक विवरण अनुसार, रसुवामा सञ्चालनमा रहेका करिब २३६ मेगावाट क्षमताका पाँच जलविद्युत् आयोजना तथा निर्माणाधीन करिब ३४२.४२ मेगावाट क्षमताका तीन आयोजनामा क्षति भएको अनुमान गरिएको छ ।
त्यसैगरी, नुवाकोटमा सञ्चालनमा रहेका करिब १२३ मेगावाट क्षमताका चार आयोजना तथा करिब ५२.६ मेगावाट क्षमताका दुई निर्माणाधीन आयोजनामा समेत क्षति पुगेको प्रारम्भिक विवरण प्राप्त भएको छ ।
विशेषगरी माथिल्लो त्रिशूली–३ ‘बी’ हब सबस्टेसनमा पुगेको क्षतिका कारण भौतिक संरचनामा प्रत्यक्ष ठूलो क्षति नपुगेका कतिपय आयोजना समेत राष्ट्रिय प्रसारण प्रणालीबाट विच्छेद हुन पुगेका छन् ।
इप्पानले बाढी प्रभावित क्षेत्रमा विद्युत् आयोजनामा कार्यरत तथा फसेका सम्पूर्ण कामदार, कर्मचारी र प्राविधिकहरूको तत्काल खोजी, उद्धार तथा सुरक्षित स्थानमा स्थानान्तरणलाई पहिलो प्राथमिकता दिन नेपाल सरकार, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्थानीय प्रशासन तथा सम्बन्धित सबै सुरक्षा निकायलाई आग्रह समेत गरेको छ ।
त्यसैगरी बाढीबाट क्षतिग्रस्त विद्युत् आयोजना तथा प्रसारण संरचनाको यथाशीघ्र क्षति मूल्यांकन, पुनर्निर्माण तथा विद्युत् प्रणालीमा पुनः जोड्ने कार्यलाई राष्ट्रिय प्राथमिकता दिन सरकार, नेपाल विद्युत् प्राधिकरण, विद्युत विकास विभाग तथा सम्बन्धित निकायसँग इप्पानले आग्रह गरेको छ ।








