काठमाडौं — नेपाल विद्यार्थी संघ सिन्धुपाल्चोकले लिसंखु पाखर गाउँपालिकास्थित ककलिङ क्याम्पसका स्ववियु सभापति स्वर्गीय आयुष श्रेष्ठको स्मृतिमा श्रद्धाञ्जली तथा दीप प्रज्वलन कार्यक्रम आयोजना गरेको छ।
चाबहिलस्थित स्तुपा परिसरमा मंगलबार साँझ आयोजित कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य शिव सुनार, नेपाल विद्यार्थी संघका केन्द्रीय अध्यक्ष करुणा कटुवाल, नेपाली कांग्रेस सिन्धुपाल्चोकका सभापति जंगबहादुर लामा, नेविसंघका केन्द्रीय सदस्य अनिल सापकोटा, नेविसंघ सिन्धुपाल्चोकका सचिव दिपेशराज खनाल तथा सदस्य चीनलाल तामाङलगायतको उपस्थिति रहेको थियो।

कार्यक्रममा सहभागीहरूले स्वर्गीय श्रेष्ठप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै उनको सम्झनामा दीप प्रज्वलन गरेका थिए। उनीहरूले श्रेष्ठको विद्यार्थी राजनीतिप्रतिको सक्रियता, ग्रामीण क्षेत्रको उच्च शिक्षा प्रवर्द्धन तथा विद्यार्थीका हकहितका लागि पुर्याएको योगदानको स्मरण गर्दै श्रद्धाञ्जली व्यक्त गरे।
सहभागीहरूले श्रेष्ठको असामयिक निधनले विद्यार्थी आन्दोलन तथा संगठनमा अपूरणीय क्षति पुगेको बताएका थिए। साथै, उनले विद्यार्थी र समाजका लागि देखाएको बाटो तथा पुर्याएको योगदानलाई सदैव स्मरण गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे।








