सिन्धुपाल्चोक -बलेफी गाउँपालिका–१ थापागाउँ पहिरेमा पहिरोको जोखिम बढेपछि नौ परिवार राति विद्यालय भवनमा बस्न बाध्य भएका छन्। जमिन चिरिँदै तल सर्दै गएपछि घरमा रात बिताउन जोखिमपूर्ण बनेको स्थानीयले बताएका छन्।
करिब दुई महिनादेखि प्रभावित परिवार दिनमा खेतीपाती तथा घरायसी कामका लागि घर फर्कने र राति विद्यालयमा बस्ने गरेका छन्। स्थानीय गणेशबहादुर थापाले घर र खेत दुवै असुरक्षित बन्दै गएको भन्दै तत्काल सुरक्षित स्थानमा पुनःस्थापना गर्न माग गरेका छन्।

स्थानीयका अनुसार २०१४ सालदेखि जमिन धसिन र चर्किन थालेको थियो। २०७२ सालको भूकम्पपछि समस्या थप गम्भीर बनेको हो। पहिरोका कारण नौ घर उच्च जोखिममा छन्।
बलेफी गाउँपालिकाले प्रभावित परिवारको अवस्था अध्ययन गरी व्यवस्थापन तथा स्थानान्तरणका लागि माथिल्लो निकायमा निर्णय पठाएको जनाएको छ।
यता, भोटेकोसी गाउँपालिका–१ का पाउँगुम्बा, हिन्दी, लिस्तीकोट, बोसिसा र नामानाङमा पनि ५१ परिवार पहिरोको जोखिममा छन्। स्थानीयले विपद्पछि राहतका आश्वासन आउने गरे पनि जोखिममा रहेका बस्तीको समयमै स्थायी पुनःस्थापना हुन नसकेको गुनासो गरेका छन्। उनीहरूले ठूलो क्षति हुनुअघि नै सुरक्षित स्थानमा स्थानान्तरण गर्न माग गरेका छन्।








