काठमाडौं । सिन्धुपाल्चोक क्षेत्र नं. २ अन्तर्गतका स्थानीय तहहरूको समग्र विकास, पूर्वाधार निर्माण तथा आगामी बजेटका विषयमा महत्वपूर्ण छलफल सम्पन्न भएको छ।
माननीय पूर्वाधार विकास मन्त्री सुनिल लम्साल, माननीय प्रमिला कुलु तथा माननीय सचिवालय प्रमुख सुरेश मास्केबीच भएको छलफलमा क्षेत्र नं. २ अन्तर्गतका स्थानीय तहका विकासका आवश्यकता, प्राथमिकता तथा आगामी बजेटमा समेटिनुपर्ने महत्वपूर्ण योजनाहरूका विषयमा विस्तृत छलफल भएको हो।

छलफलमा चौतारा साँगाचोकगढी नगरपालिका, मेलम्ची नगरपालिका, इन्द्रावती गाउँपालिका, पाँचपोखरी थाङपाल गाउँपालिका र हेलम्बु गाउँपालिकाका विभिन्न विकाससम्बन्धी विषयहरूलाई प्राथमिकताका साथ उठाइएको थियो।
विशेषगरी स्थानीय तहमा आवश्यक पूर्वाधार निर्माण, विकास आयोजनाको प्रभावकारी कार्यान्वयन, जनताको आधारभूत आवश्यकता सम्बोधन तथा क्षेत्रको समग्र आर्थिक–सामाजिक विकासलाई गति दिने विषयमा छलफल केन्द्रित रहेको जनाइएको छ।
क्षेत्रका विकासका आवश्यकताहरूलाई आगामी बजेट तथा योजनामा प्राथमिकताका साथ समेट्न सम्बन्धित निकायसँग आवश्यक पहल गर्ने विषयमा समेत सकारात्मक छलफल भएको छ। स्थानीय तहका वास्तविक आवश्यकता पहिचान गरी दीर्घकालीन प्रभाव पार्ने योजनालाई प्राथमिकतामा राखेर अघि बढाउनुपर्नेमा सहभागीहरूले जोड दिएका थिए।
सिन्धुपाल्चोक क्षेत्र नं. २ का विभिन्न स्थानीय तहबीच समन्वय र सहकार्यलाई थप प्रभावकारी बनाउँदै जनताको अपेक्षाअनुसार विकास निर्माणका कामलाई गति दिने वातावरण निर्माण गर्ने विषयमा छलफललाई महत्वपूर्ण उपलब्धिका रूपमा लिइएको छ।








