सरकारले खाना पकाउने एलपी ग्यास भरी सिलिन्डर बजार पठाउन थालेको दुई साता नबित्दै काठमाडौं उपत्यका लगायत देशका विभिन्न जिल्लामा उपभोक्ताले ग्यास अभावको सामना गर्नुपरेको छ ।
ग्यास नपाएपछि सर्वसाधारणहरू डिलर र सप्लायरकोमै पुगेर खाली सिलिन्डर लाइनमा राख्न बाध्य भएका छन् ।आइतबार बालाजुस्थित औद्योगिक क्षेत्रमा नेपाल ग्यास लिएर लाइन लाग्नेहरूको भिड लागेको छ । एउटा ग्यास साट्न मात्रै पनि हप्तौंसम्म कुर्नुपरेको गुनासो उपभोक्ताबाट व्यापक आउन थालेको छ ।

अहिले फेरि पूरै भरिएको सिलिन्डर बाँड्न थालेपछि एक्कासि ग्यासको माग बढेर अभाव सिर्जना भएको डिलर सञ्चालकहरूको भनाइ छ ।
एकातिर ग्यास डिपोहरूमा उपभोक्ताको थामिनसक्नु भिड छ भने अर्कातिर आयल निगमले बजारमा ग्यासको कुनै अभाव नरहेको दाबी बारम्बार गर्दै आइरहेको छ ।
अहिले ग्यास नपाएर सबैभन्दा बढी मारमा विद्यार्थी र एउटामात्र सिलिन्डर हुने साना परिवार परेका छन् ।








