सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–स्थित इको पहिरो क्षेत्रको निरीक्षणका क्रममा भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्सालले स्थानीयलाई हप्काएको भन्दै सामाजिक सञ्जालमा भिडियो भाइरल भएपछि त्यसले राजनीतिक बहस समेत चर्काएको छ।
घटनापछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सिन्धुपाल्चोकका क्षेत्रीय सभापति उमेश लामाले मन्त्रीले स्थानीयलाई अपमानजनक व्यवहार नगरेको दाबी गर्दै भाइरल सामग्रीले वास्तविकता नदेखाएको बताएका छन्। उनका अनुसार स्थानीयले सडक अवरुद्ध र बस्ती उच्च जोखिममा परेको गुनासो राखेका थिए भने मन्त्रीले दीर्घकालीन समाधानका लागि आवश्यक परे बस्ती स्थानान्तरण गरेर भए पनि सडक सुरक्षित बनाउनुपर्ने धारणा व्यक्त गरेका थिए।

यता प्रतिनिधिसभा सदस्य भरत प्रसाद पराजुलीले आफू विशेष कामका कारण विदेशमा रहेकाले निरीक्षणमा सहभागी हुन नसकेको उल्लेख गर्दै मन्त्रीले अरनिको राजमार्गका विभिन्न जोखिमयुक्त क्षेत्रको स्थलगत अवलोकन गरेकोमा धन्यवाद दिएका छन्। उनले चालु आर्थिक वर्षमै सिन्धुपाल्चोकका सडक व्यवस्थित गर्न मन्त्रालयसँग निरन्तर समन्वय भइरहेको पनि बताएका छन्।
भाइरल भिडियोले विवाद सिर्जना गरे पनि सम्बन्धित पक्षहरूले भने घटनालाई तोडमोड गरेर प्रस्तुत गरिएको दाबी गर्दै तथ्यभन्दा प्रचार हावी भएको टिप्पणी गरेका छन्।








