सिन्धुपाल्चोक –भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्सालले सिन्धुपाल्चोकको कोदारीस्थित अरनिको राजमार्गमा पर्ने ‘इको’ र ‘कोठे’ पहिरो क्षेत्र तथा तातोपानी नाकाको स्थलगत अनुगमन गरेका छन्।
अनुगमनमा कानुनमन्त्री सोविता गौतम, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सिन्धुपाल्चोकका क्षेत्रीय सभापति उमेश लामा, विभिन्न राजनीतिक दलका प्रतिनिधि तथा सरोकारवाला निकायका अधिकारीहरूको सहभागिता रहेको थियो।टोलीले पहिरोका कारण राजमार्गमा परेको असर, सडकको वर्तमान अवस्था, यात्रु तथा मालवाहक सवारीसाधनले भोगिरहेका कठिनाइ र तातोपानी नाकाको सञ्चालन अवस्थाबारे जानकारी लिएको थियो।

अनुगमनपछि मन्त्री लम्सालले अरनिको राजमार्गलाई सुरक्षित र नियमित रूपमा सञ्चालन गर्न पहिरो नियन्त्रण तथा मर्मत कार्यलाई उच्च प्राथमिकतामा राखिने बताएका छन्। उनले नेपाल–चीन व्यापारको प्रमुख प्रवेशद्वार तातोपानी नाकाको निर्बाध सञ्चालन सुनिश्चित गर्न सम्बन्धित निकायलाई प्रभावकारी समन्वयसहित तत्काल आवश्यक कदम चाल्न निर्देशन दिएका छन्।
स्थानीय जनप्रतिनिधि र राजनीतिक दलका नेताहरूले पनि अरनिको राजमार्ग र तातोपानी नाकालाई दीर्घकालीन रूपमा सुरक्षित बनाउन पहिरो नियन्त्रण, सडक स्तरोन्नति तथा आवश्यक पूर्वाधार निर्माणमा सरकारले विशेष प्राथमिकता दिनुपर्ने धारणा राखेका छन्। प्रभावित क्षेत्रको अवस्थाबारे विस्तृत प्रतिवेदन तयार गरी आवश्यक सुधारका काम शीघ्र अघि बढाइने जनाइएको छ।








