नेपालको जलस्रोत क्षेत्रमा विकासको ढाँचा, सम्भावना तथा जलवायु परिवर्तनले सिर्जना गरेका चुनौतीमा केन्द्रित पुस्तक ‘नेपालको जलस्रोत’ सार्वजनिक भएको छ।
आइतबार काठमाडौंस्थित प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजित विशेष समारोहका प्रमुख अतिथि एवं जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र अन्य विशिष्ट अतिथिहरुले उक्त पुस्तकको लोकार्पण गरेका हुन्।

जलस्रोत विज्ञ तथा राजनीतिज्ञ महाजन यादवद्वारा नेपाली र अङ्ग्रेजी भाषामा लेखिएको उक्त पुस्तकले नेपालको जलस्रोत विकासको वर्तमान अवस्था, नीतिगत चुनौती, जलवायु परिवर्तनको प्रभाव, जल व्यवस्थापन, ऊर्जा, सिँचाइ तथा दिगो विकासका आयामलाई तथ्य र विश्लेषणसहित प्रस्तुत गरेको लेखकले बताएका छन्।
पुस्तक सार्वजनिक गर्दै प्रमुख अतिथि उपेन्द्र यादवले नेपाल विश्वकै जलसम्पन्न मुलुक भएपनि त्यसको वैज्ञानिक, योजनाबद्ध र राष्ट्रिय हितअनुकूल उपयोग हुन नसकेको उल्लेख गरे।
जलस्रोतलाई केवल ऊर्जा उत्पादनसँग मात्र सीमित नराखी कृषि, खानेपानी, सिचाई, उद्योग, वातावरण संरक्षण तथा समग्र आर्थिक रूपान्तरणसँग जोडेर दीर्घकालीन राष्ट्रिय रणनीति निर्माण गर्न आग्रह गरेका छन्।
जलस्रोत क्षेत्रसँग सम्बन्धित नीति निर्माण, अध्ययन तथा अनुसन्धानमा उपयोगी सन्दर्भ सामग्रीका रूपमा पुस्तकले महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको आयोजकले जनाएको छ।








